२०८३ बैशाख २ गते , बुधबार
मेची राजमार्ग फेरि अवरुद्ध
मेची राजमार्ग फेरि अवरुद्ध भएको छ । पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा रहेको मेची राजमार्गमा आज बिहान फेरि पहिरो गएको हो । आज बिहान पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी लक्ष्मी भण्डारीले बताए । उनले बाटो खुलाउने प्रयास भइरहेको जानकारी दिए ।
यसअघि हिजो साँझ सुख्खा पहिरो झरेर अवरुद्ध भएको मेची राजमार्ग एकतर्फी सञ्चालनमा आएको थियो । गएराति १०ः५० बजे बाटो एकतर्फी सुचारु गरिएको थियो । पहिरोले पुरिएको ट्रक घटनास्थलमा नै रहेको छ ।
इलामको रोङ गाउँपालिका ४ बागखोरस्थित मेची राजमार्गमा सडक मर्मत भइरहेको स्थानमा माथिबाट ढुंगासहितको सुख्खा पहिरो झरी इलामबाट झापातर्फ आउँदै गरेको ट्रक पुरिएको हो । हिजो साँझ ६ः०४ बजे प्रदेश १–०१–००१ ख ४३३४ नं. को गोलिया बोकेको ट्रक पुरिएको हो ।