राखेपले गर्यो एन्फालाई निलम्बन
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ। पटक पटक दिइएको निर्देशनको पालना नगरेको भन्दै खेलकुद नियमावली र खेलकुद ऐनको आधारमा रहेर राखेपले एन्फालाई निलम्बन गरेको हो।
राष्ट्रिय खेलकुद ऐन २०७७ र राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को विधानलाई टेकेर एन्फा नेतृत्वमाथि राखेपले निलम्बन गरेको हो। एन्फाले बारम्बार राखेपबाट दिएको निर्वाचन सम्बन्धी निर्देशनलाई अटेर गर्दै निर्वाचन गर्न लागेको भन्दै राखेकाले निलम्बन गरेको हो।
राष्ट्रिय खेलकुद परिषद् राखेपले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ र राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृत संघको विधानलाई समेत मनोगत ढङ्गबाट व्याख्या गरी पेश भएको भन्दै राखेपले एन्फालाई निलम्बन गरेको हो।
राखेपले बारम्बार आफू आबद्ध रहेको अन्तर्राष्ट्रिय संस्थाबाट भएको निर्देशन पालना गर्नुपर्ने विषयलाई बाध्यात्मक र अनिवार्यता देखाएर राष्ट्रिय कानुनको प्रधानताको सिद्धान्तलाई अवमूल्यन गर्ने मनसाय एन्फाको देखिएका कारण एन्फालाई निलम्बन गरिएको पत्रमा उल्लेख गरिएको छ।
त्यस्तै राखेपले आफूले मागे बमोजिमको चित्त बुझ्दो जवाफ प्राप्त नभएको पनि पत्रमा उल्लेख गरेको छ। एन्फाबाट पठाएको लिखित जवाफ उचित कारणसहितको चित्त बुझ्दो नरहेको साथै राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम १० को उपनियम १ को खण्ड ६(१) अनुसारको कार्य समेत भएको गरेको नदेखिएको हुँदा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २९ को उपदफा (२) बमोजिम एन्फालाई ३ महिनासम्मका लागि निलम्बित गर्ने कार्यकारी समितिको निर्णय रहेको पत्रमा उल्लेख गरिएको छ।