२०८३ असार ११ गते , विहीबार

आज निर्जला एकादशी अर्थात् तुलसीको दल राख्ने दिन

sajilo news
झापा
२०८३ असार ११ गते , विहीबार
आज निर्जला एकादशी अर्थात् तुलसीको दल राख्ने दिन

ज्येष्ठ शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ। श्रीहरिको प्रिय तिथि एकादशीमा भगवान् नारायणको पूजा गरिन्छ। आजको दिन गङ्गा तथा अन्य पवित्र नदीमा स्नान गरी पानीसमेत त्याग गरी व्रत बस्ने विधान रहेको छ।  आज पूर्णरूपले उपबास बसी जल वा सर्बतले भरिएको घडा दान गर्नाले दान गर्ने व्यक्तिलाई श्रीहरिको कृपा रहने शास्त्रमा वर्णन गरिएको छ।

आज पवित्र स्थानमा तुलसीको दल राखेर हरिशयनी एकादशीको दिन तुलसीको मठमा रोपेर हरिबोधिनी एकादशीको दिन भगवान् विष्णु भगवानसँग विवाह गर्ने प्रचलन रहेको छ। अन्य एकादशीमा व्रत गर्न असमर्थहरूका लागि पनि आजको दिन व्रत गर्नाले शुभ फल प्राप्त हुनेछ।

जुन भक्तले शम, दम र दानमा प्रवृत्त भई श्रीहरिको पूजा र रात्रिको समयमा जागरण गर्दै यस ‘निर्जला एकादशी’को व्रत गरेको छ, उसले आफूसँगै बितेका सय पुस्ताका र आगामी सय पुस्ताका व्यक्तिहरूलाई भगवान् वासुदेवको परमधाममा पुर्याउँछ। निर्जला एकादशीका दिन अन्न, वस्त्र, गौ, जल, शय्या, सुन्दर आसन, कमण्डलु तथा छाता दान गर्नुपर्दछ।

ऋषि ब्यासले भिमसेनलाई भनेका छन्– ‘हे भीमसेन ! ज्येष्ठ मासमा शुक्ल पक्षको जुन शुभ एकादशी हुन्छ, त्यसको निर्जल व्रत गर्नुपर्दछ। त्यस दिन शख्खरसित जलको घडा दान गर्नुपर्दछ। यसो गर्नाले मनुष्यले भगवान् विष्णुका समीपमा पुगेर आनन्दको अनुभव गर्दछ। तत्पश्चात् द्वादशीमा दिन दुःखीलाई भोजन गराए पछि स्वयं आफूले पनि भोजन गर्नुपर्छ। जसले यसरी पूर्ण रूपले यस पापनाशिनी एकादशीको व्रत गर्छ, ऊ सबै पापबाट मुक्त भई आनंदमय पद प्राप्त गर्न सफल हुन्छ।’ यो सुनेर भीमसेनले पनि यस शुभ एकादशीको व्रत आरम्भ गरे।

तुलसीको दल राख्ने विधि

– बिहान उठेर नित्य कर्म सकाएर गङ्गा तथा पवित्र नदी तथा खोलामा स्नान गर्ने।

– पूजा स्थलमा सफा गरी भगवान् विष्णु, नारायण, श्रीकृष्ण वा शालीग्राको मुर्ति स्थापना गर्ने।

– तुलसी दल सङ्कलन गर्ने 

एक दिनअघि वा बिहान स्नानपछि श्रद्धापूर्वक तुलसी टिप्ने, तुलसी टिप्दा ‘ॐ नमो भागवते वासुदेवाय’ वा विष्णु मन्त्र जप गर्न सकिन्छ।  भगवानलाई जल, अक्षता, फूल, धूप, दीप अर्पण गरेपछि तुलसी दल चढाउने, प्रत्येक पात अर्पण गर्दा ‘ॐ नमो नारायणाय’ वा ‘ॐ नमो भागवते वासुदेवाय’ मन्त्र जप गन्दिनुपर्दछ। आज विष्णु सहस्रनाम वा हरिनाम सङ्कीर्तन गर्दै तुलसी अर्पण गर्नु विशेष फलदायी मानिन्छ। पूजा सम्पन्न भएपछि भगवानलाई चढाइएको तुलसी दल प्रसादका रूपमा ग्रहण गर्न सकिन्छ।

धार्मिक महत्व 

तुलसीलाई देवीस्वरूप मानिने हुनाले एकादशीमा तुलसी दल अर्पण गर्दा विष्णुको विशेष कृपा प्राप्त हुने विश्वास रहेको छ। आजको दिन निर्जला व्रत बस्नाले पाप क्षय, मनोकामना पूर्ति र आध्यात्मिक उन्नति हुने कुरा शास्त्रमा वर्णन गरिएको छ।

सम्बन्धित समाचार