२०८३ बैशाख ३ गते , विहीबार

यी हुन् बैंक खाता नखोली चुनावमा खर्च गरिरहेका झापाका २५ उम्मेदवारहरु (नामावलीसहित)

sajilo news
झापा
२०८२ फाल्गुन ६ गते , बुधबार
यी हुन् बैंक खाता नखोली चुनावमा खर्च गरिरहेका झापाका २५ उम्मेदवारहरु (नामावलीसहित)

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाका ५ निर्वाचन क्षेत्रमा गरी ९० जना उम्मेदवारले मनोनयन दर्ता गरे पनि हालसम्म ६५ जनाले मात्र निर्वाचनलक्षित बैंक खाता खोलेका छन् ।

निर्वाचन आयोगले उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न, गराउन नहुने भनी राजनीतिक दललाई निर्देशन दिएको थियो । निर्वाचन आचारसंहितामै उक्त विषय उल्लेख गरिए पनि २५ जना उम्मेदवारले बैंक खाता खोलेका छैनन् ।

दिनका दिन ताकेता गरिरहेपनि बुधवारसम्म ६५ जनाले मात्र बैंक खाता खोलेको झापाका निर्वाचन अधिकारी तुलसीकुमार नेपालले जानकारी दिए । उनले ठूला दलका उम्मेदवारहरूले बैंक खाता खोलिसकेको बताउँदै साना दलका उम्मेदवारहरूले खोल्न बाँकी रहेको जानकारी दिए ।

बैंक खाता नखोली चुनावमा खर्च गर्नेहरूमा झापा क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद साँवा लिम्बू,नेपाल मजदुर किसान पार्टीका हिरण्यप्रसाद भट्टराई,नेपाल जनमुक्ति पार्टीका खान्द्रु करुवा,उज्यालो नेपाल पार्टीका नरेशकुमार लावती,स्वतन्त्र उम्मेदवार गणेशकुमार खरेल , झापा क्षेत्र नं २ मा नेपाल मजदुर किसान पार्टीका चन्द्रकुमारी गारु ,नेपाल जनमुक्ति पार्टीका मानबहादुर पुलामी मगर,उज्यालो नेपाल पार्टीका चुँडा कर्ण बेघा , झापा क्षेत्र नं ३ मा नेपाल मजदुर किसान पार्टीका धर्म लक्ष्मी दुवाल (लघु) ,नेपाली कम्युनिस्ट पार्टीका डिल्लीराम घिमिरे ,श्रम संस्कृति पार्टीका दीपक तिम्सिना ,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका चन्द्रकला साँवा , झापा क्षेत्र नं ४ मा नेपाल मजदुर किसान पार्टीका तुलसी लक्ष्मी दुमरु (बाटी) ,नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)का टेकबहादुर अधिकारी ,स्वतन्त्र उम्मेदवार साजन माझी ,श्रम संस्कृति पार्टीका अमृतादेवी राई , झापा क्षेत्र नं ५ मा स्वतन्त्र उम्मेदवारहरू डम्बर शाहु खेमनाथ शिवाकोटी , मातृका भट्टराई , शोभा भण्डारी ,प्रकाश नेपाल , अर्जुन सापकोटा , विपुल गुरागाईँ ,पुष्कर खतिवडा र श्रम संस्कृति पार्टीका समीर तामाङ रहेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन प्रयोजनका लागि २५ हजार रुपैयाँ भन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा वा खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने भनी आइतबार फेरि विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएका थिए ।

आयोगले आदेश दिएमा खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण तथा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेस गर्नुपर्ने पनि उनले जानकारी दिए । भूगोलअनुसार उम्मेदवारले २५ लाख रुपैयाँदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार