सल्यानमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, तीन घाइते
सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। रुकुमपूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको ग १ ज ३५६१ नम्बरको पिकअप जिप चोरखोलमा दुर्घटनामा परेको हो।
दुर्घटनामा रुकुमपूर्व सिस्ने गाउँपालिका–४ अमलाचौरका ३१ वर्षीय विजय विश्वकर्माको घटनास्थलमै मृत्यु भएको छ। मृतक विश्वकर्मा जिप चालक रहेको प्रहरी चौकि कपुरकोटले जनाएको छ।
बिरामी बोकेर हिँडेको सो जिपमा चालकसहित चार जना सवार थिए। बिहान करिब पौने पाँच बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।दुर्घटनामा दुई महिला र एक बच्चा घाइते भएका छन्। दुर्घटनामा घाइते हुनेमा सिस्ने गाउँपालिका-२ नाइघाटकी २२ वर्षीया सुष्मी रोका, ४० वर्षीया ललिता केसी र १८ महिनाकी बालिका सफलता केसी छन्। घाइते तीनै जनालाई उद्धार गरेर कपुरकोट गाउँपालिकाको आधारभूत अस्पतालमा प्राथमिक उपचार गरिएको छ।