आज ‘सोहराय’ पर्व र किचकबध धार्मिक मेला, झापाका यी स्थानीय तह बिदा
पूर्वी नेपालमा बसोबास गर्ने आदिवासी सन्थाल समुदायले परम्परागत ‘सोहराय’ पर्व र किचकबध धार्मिक मेला आज एकैदिन परेको छ ।
सोहराय पर्वको अवसरमा झापाका ११ वटा पालिकाहरूले आज स्थानीय बिदा दिएका छन् । गौरीगञ्ज , गौरादह ,शिवसताक्षी , झापा, बाह्रदशी , हल्दीवारी , कचनकवल , बिर्तामोड , भद्रपुर , कनकाई र कमलले बिदा दिएका हुन् । सन्थाल जातिको बसोबास नरहेको मेचीनगर , अर्जुनधारा , बुद्धशान्ति र दमकले भने बिदा दिएका छैनन् ।
सन्थालहरूको प्रमुख चाड सोहराय एक सातासम्म मनाइने गरिएको छ । सोहरायको पहिलो दिनलाई ‘उम’, दोस्रो दिनलाई ‘दाका’, तेस्रो दिनलाई ‘खुन्टौ’, चौथो दिनलाई ‘जाली’, पाँचौँ दिनलाई ‘हाकुकाद्कम’ र छैटौँ दिनलाई ‘साकरात’ भनिने गरेको छ । मिठोमसिनो खाने र एकअर्काको घरमा गएर रमाइलो गरेर सन्थालहरूले यो पर्व मनाउँदै आएका छन् । यो पर्वमा चेलीबेटी र पाहुनाहरूलाई निमन्त्रणा गरिएको हुन्छ । उनीहरूले ल्याएका कोसेली बितेका पूर्वजहरूलाई चढाएर नाचगान पनि हुने गरेको छ ।
त्यस्तै भद्रपुर नगरपालिका २ र ३ नम्बर वडामा पर्ने महाभारतकालीन किंवदन्तीसँग जोडिएको ऐतिहासिक किचकबध धार्मिक मेला लागेको छ । आज माघे शुल्क पूर्णिमा÷स्वस्थानी व्रतका दिन किचकबध मेला लाग्ने गरेको
किचकबध, धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले जानकारी दिए । किचकबधको धार्मिक पोखरीमा माघे शुल्क पूर्णिमा दिन स्वतःस्फूर्त पानी आउने गरेकोले सो पोखरीमा नुहाउँदा व्रतालु भक्तजनहरूले इच्छाएको मनकामना पुरा हुने धार्मिक विश्वास रहेको छ ।
भक्तजनहरूले पोखरीमा पैसा फाल्ने, पान र सुपारी राखेर पूजा अर्चना गरी परेवा उडाउने धार्मिक प्रचलन पनि छ । भक्तजनहरूले भीमसेनले कीचकलाई वध गरेको मूर्तिमा समेत पूजाआर्चना गर्ने गर्छन् । किचकबध मेलामा झापासहित पूर्वका विभिन्न जिल्लासँगै छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरू आउन गरेकाले घुइँचो नै लाग्ने गरेको छ ।
महाभारतकालीन किंवदन्ती अनुसार विराट राजाका सालो कीचक सेनापति थिए । पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूप माथि कुदृष्टि राख्ने सेनापति कीचकलाई भीमसेनले मुड्क्याएर मारेको किंवदन्ती छ ।
सोही कथावस्तुलाई आधार मानेर यस ठाउँको नाम किचकबध राखिएको र पछि किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको नामकरण गरिएको जनाइएको छ ।