२४ वर्षीय युनिका तामाङको पीडादायी सडक बास यात्रा
जीवनले साथ नदिँदा मान्छे कति छिटो सडकमा आइपुग्छ भन्ने उदाहरण हुन् २४ वर्षीय युनिका तामाङ। विगत दुई हप्तादेखि काठमाडौँका सडक पेटीमा बेवारिसे जीवन बिताइरहेकी उनलाई मानव सेवा आश्रमले शनिवार उद्धार गरी संरक्षणमा राखेको छ। उनलाई काठमाडौँ महानगरपालिका–३२, कोटेश्वर क्षेत्रबाट उद्धार गरिएको हो।
स्थानीयवासीले सडक पेटीमा असहाय अवस्थामा बसेकी उनीबारे जानकारी गराएपछि मानव सेवा आश्रमको उद्धार टोलीले अवस्था अवलोकन गर्दै उद्धार गरेको हो । उनी शारीरिक रूपमा कमजोर भए पनि मानसिक रूपमा सबल छिन्।
युनिकाले आफ्नो स्थायी ठेगाना धादिङको क्षत्रदेउराली गाउँपालिका–३ भएको बताएकी छन्। उनका अनुसार उनी ९ वर्षको हुँदा नै बाबुआमाको निधन भएको थियो। चार दाइ र एक दिदी भए पनि समयसँगै सबै आ–आफ्नै संसारमा व्यस्त बन्दै गए। “आमाबुबा भएपछि मात्र परिवार हुँदो रहेछ,” भन्दै उनी भावुक भइन्, “दाइहरू आफ्नै भए पनि भाउजू आफ्नै नहुने रहिछन्।”
“यत्रो वर्ष घर नगएन्, कसैले खोजेनन्,” उनी भन्छिन्, “यदि साँच्चै माया गर्ने भए खोज्थे होला।” यही पीडाले उनीभित्रको भरोसा पनि कमजोर बनेको छ। निरक्षर युनिका नाम लेख्नसमेत नसक्ने बताउँछिन्। दुई वर्षअघि जीविकोपार्जनका लागि कामको खोजीमा उनी काठमाडौँ झरिन्। सुरुमा साथीहरूसँग कोठा भाडामा लिएर बसेर काम गर्दै जीवन धानिरहेकी थिइन्। सामान्य काम भए पनि उनको दैनिकी चलिरहेको थियो।
तर अचानक युरिक एसिडको समस्या बढेपछि उनको शरीरले काम गर्न छाड्यो। उपचारका लागि जोगाएको रकम सकियो, रोग भने बल्झिँदै गयो। काम गर्न नसक्ने भएपछि साथीसँगको सम्बन्ध पनि चिसिँदै गयो। अन्ततः कोठामा बस्न नपाएपछि उनी एक्ली बनिन्। घर फर्किन सल्लाह त पाइन्, तर वर्षौँदेखि परिवारसँग सम्पर्क नभएकाले कहाँ जाने भन्ने अन्योलमै परिन्।
सडकमा पुगेपछि उनका दुःख झन् बढे। न गाँस, न बास। जाडोयाममा पुरानै रोगले शरीर झन् थला पार्यो। केही दिन सडक पेटीमै रातदिन बिताउन बाध्य भइन्। शारीरिक पीडासँगै मनको पीडा झन् गहिरिँदै गयो। उनीले जीवनका दुई दशक मात्र बिताउँदा पनि गहिरो उदासी बोकेर हिँडिरहेकी छिन्।
हाल उनी सामान्य रूपमा हिँडडुल गर्न सक्ने अवस्थामा पुगेकी छन्। उपचार र हेरचाहपछि बिस्तारै निको हुँदै गएकी युनिकाले अब नयाँ जीवन सुरु गर्ने आशा पलाएकी छन्। उनी निको भएपछि आश्रमकै सेवामा रमाउने प्रण समेत गरेकी छिन् ।