बिर्तामोड मोटरसाइकल दुर्घटना : मृतक दुवै जना भद्रपुरका युवक भनि पहिचान खुल्यो
झापाको बिर्तामोडमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका दुवै जनाको पहिचान खुलेको छ । मृतक दुवै जना भद्रपुरका युवक रहेका छन् । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा भद्रपुर नगरपालिका-९ का २५ वर्षीय भुपाल अधिकारी र भद्रपुर-७ का २५ वर्षीय शिर्षक सुवेदी रहेका छन् ।
आज साँझ साढे ५ बजेको समयमा पूर्व-पश्चिम राजमार्गको बिर्तामोड-६ गिरीबन्धु टी स्टेट नजिक चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । निर्माणाधिन राजमार्गमा डाइभर्सनले गर्दा मोटरसाइकलको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारको लागी बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाएकोमा डाक्टरले चेकजाँच गर्दा ६ बजेर १५ बजे दुवै जनालाई मृत घोषणा गरेको थियो । यता दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।