२०८२ मंसीर १२ गते , शुक्रबार

स्वाधीनताको धरातल र वर्तमान चुनौति

sajilo news
राजबाबु शंकर
२०८२ कार्तिक १७ गते , सोमबार
स्वाधीनताको धरातल र वर्तमान चुनौति

‘स्वाधीन भएर बाँच्न पाउने नेपालीको अभिलाषा’ हजारौं वर्षदेखि अविच्छिन्न रूपमा रहेको नेपाल राष्ट्रकै मूल आकांक्षा हो । शताब्दीऔंदेखिको राष्ट्रिय भावना, गौरव र अटुट संकल्पको प्रतिध्वनि हो । आजसम्म स्वतन्त्र राष्ट्रका रूपमा विश्व मानचित्रमा अटल रहेको नेपालका नागरिकका लागि स्वाधीनता केवल राजनीतिक मुद्दा मात्र नभएर जीवनको आधारभूत आवश्यकता हो । तर, आजको युगमा ‘स्वाधीनता’को अर्थ केवल भौगोलिक सिमानाको रक्षामा मात्र सीमित छैन; यसको व्यापक अर्थ राष्ट्रको हरेक नागरिकले डर, त्रास र बाह्य प्रभावबाट मुक्त भई आत्मसम्मानका साथ बाँच्न पाउनु हो ।

नेपाल कहिल्यै कसैको उपनिवेश बनेन । सार्वभौमिकताको रक्षाका लागि हजारौं गोर्खाली वीर–वीराङ्गनाले न्यौछावर गरेको आफ्नो जीवन र देशभक्त पुर्खाहरूको अदम्य साहसले गर्दा नै हामी यो गौरवशाली इतिहास भएको देशका नागरिक बन्न पाएका हौं । त्यसैले, स्वाधीनताको अर्थ केवल सिमानाको रक्षा मात्र होइन; बरू आफ्नो संस्कृति, भाषा, परम्परा र जीवनशैलीको स्वतन्त्र अभ्यास र संरक्षण पनि हो ।

राष्ट्रिय हितलाई सदैव सर्वोपरि राख्ने, दूरदृष्टि भएको र अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन कायम गर्न सक्ने सक्षम, योग्य, देशभक्त, स्वाभिमानी र इमान्दार नेतृत्व नै आजको प्रमुख खाँचो हो । अकुत भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापित गर्नु र सबै नागरिकलाई समान न्याय र अवसर प्रदान गर्नु स्वाधीन समाजको पहिलो शर्त हुन्छ । नेतृत्वले सुशासन, नागरिकले कत्र्तव्यपरायणता र सबैले एकता देखाए मात्र नेपालको स्वाधीनताको दीर्घकालीन सुरक्षा सम्भव छ ।

आजको विश्व परिवेशमा स्वाधीनताको परिभाषा फराकिलो भएको छ । आर्थिक, भू–राजनीतिक, सांस्कृतिक प्रभाव र बाह्य शक्तिहरूको परोक्ष हस्तक्षेपका कारण हाम्रो स्वाधीनता चुनौतिहरूको घेरामा छ । राजनीतिक अस्थिरता, बढ्दो विदेशी ऋण र देश विकासको गति सुस्त हुँदा राष्ट्रिय निर्णय क्षमतामाथि प्रश्न उठ्ने गरेको छ । युवा पुस्तामा पलायनको लहर, समुचित उपयोगविहीन देशभित्रका स्रोत र साधन तथा देशको हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिने दलीय प्रवृत्तिले स्वाधीनताको जगलाई कमजोर बनाउँदै लगेको छ । त्यही भएर हरेक नेपालीले शान्ति, सुशासन र न्यायको प्रत्यक्ष अनुभूति गर्न पाएका छैनन् ।

देशलाई आर्थिक स्वावलम्बनको मार्गमा प्रवृत्त गराउनु आजको प्रमुख आवश्यकता हो । राष्ट्रिय हितलाई सदैव सर्वोपरि राख्ने, दूरदृष्टि भएको र अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन कायम गर्न सक्ने सक्षम, योग्य, देशभक्त, स्वाभिमानी र इमान्दार नेतृत्व नै आजको प्रमुख खाँचो हो । अकुत भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापित गर्नु र सबै नागरिकलाई समान न्याय र अवसर प्रदान गर्नु स्वाधीन समाजको पहिलो शर्त हुन्छ । नेतृत्वले सुशासन, नागरिकले कत्र्तव्यपरायणता र सबैले एकता देखाए मात्र नेपालको स्वाधीनताको दीर्घकालीन सुरक्षा सम्भव छ ।

लोकतान्त्रिक गणतन्त्र संविधान नामको ठेलीमा त छ । तथापि, व्यवहारमा स्वाधीनताको अभिलाषा अझै काकाकुल अवस्थामै छ । मुलुकमा चरम भ्रष्टाचार, कुशासन र आर्थिक परनिर्भरता छ । जब देशको अर्थतन्त्र बाह्य सहायता र रेमिट्यान्समा अत्यधिक निर्भर हुन्छ, तब राजनीतिक निर्णय प्रक्रियामा विदेशी स्वार्थ हावी हुने सम्भावना रहने नै भयो, जसले राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाएको छ । यसै पनि नेपाल छिमेकको भूराजनीतिक हस्तक्षेप र आन्तरिक राजनीतिक नेतृत्वमा देखिएको आत्मसमर्पणकारी प्रवृत्तिले आक्रान्त छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका सीमा विवादमा दृढ अडान लिन नसक्नु, विदेशी कूटनीतिक नियोगका व्यक्तिहरूले बिना अनुमति देशका विभिन्न भागमा गतिविधि गर्नु र राष्ट्रिय हितका महŒवपूर्ण सम्झौताहरूमा पारदर्शिताको अभाव हुनु यसका केही ज्वलन्त दसीहरू हुन् ।

नेपाली जनताको ‘स्वाधीन भएर बाँच्न पाउने’ अभिलाषा तब मात्र पूर्ण हुन्छ, जब देशको नेतृत्वले दलगत स्वार्थभन्दा माथि उठेर दृढ इच्छाशक्ति र नैतिक साहसका साथ राष्ट्रिय हितमा अविचलित भएर काम गर्ने छ । आफ्नो स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा आफैं सक्षम बनेर आत्मनिर्भर अर्थतन्त्र बनाउने छ । आजको आवश्यकता नै आर्थिक, सामाजिक र राजनीतिक सबै आयामबाट नेपाललाई पूर्ण स्वाधीन बनाउनु हो । अतः सम्पूर्ण नागरिकले आफ्नो राष्ट्रिय स्वाधीनताको विरासत रक्षाका लागि सचेत र जिम्मेवार भएर लाग्न जरुरी छ । साथै, राष्ट्रियताको साझा मुद्दा तथा स्वाधीनताको सवालमा निशर्त समग्र राष्ट्रिय एकता र सर्वदलीय सहमति आजको टड्कारो आवश्यकता हो ।

सम्बन्धित समाचार