कुरासाओमाथि जर्मनीको गोल बर्षा, जापान र नेदरल्याण्ड्सको खेल बराबरी
चार पटकको विश्वविजेता जर्मनीले फिफा विश्वकपमा पहिलो पटक डेब्यु गरेको टापु राष्ट्र कुरासाओमाथि ७–१ को भारी गोलअन्तरले सानदार जित दर्ता गरेको छ। ह्युस्टन स्टेडियममा सम्पन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्रशिक्षक जुलियन नागेल्सम्यानको टोलीले प्रतियोगितामा सुखद सुरुआत गरेको हो।
जर्मनीका लागि काई हाभर्ट्जले दुई गोल गरे भने फेलिक्स नमेचा, निको स्लोटरबेक, जमाल मुसियाला, नथानिएल ब्राउन र डेनिस उन्दाभले एक–एक गोल थपे। कुरासाओका लागि लिभानो कोमेनेन्सियाले एक गोल फर्काए।
खेलको छैटौँ मिनेटमै फ्लोरियान विर्ट्जको पासमा फेलिक्स नमेचाले उत्कृष्ट गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको २१औँ मिनेटमा जर्मन डिफेन्सको कमजोरीको फाइदा उठाउँदै लिभानो कोमेनेन्सियाले गोल गरेपछि विश्वकप इतिहासकै सबैभन्दा सानो राष्ट्र कुरासाओले खेललाई १–१ को रोमाञ्चक स्थितिमा ल्याएको थियो। यो गोलसँगै कुरासाओका समर्थकहरूले रङ्गशालामा ऐतिहासिक खुसीयाली मनाएका थिए।
तर, कुरासाओको त्यो खुसी धेरै समय टिक्न सकेन। ३८औँ मिनेटमा कर्नरमार्फत आएको बललाई अनमार्क रहेका निको स्लोटरबेकले हेडमार्फत गोल गर्दै जर्मनीलाई २–१ को अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा फेलिक्स नमेचालाई पेनाल्टी एरियामा लडाएपछि पाएको अवसरलाई काई हाभर्ट्जले पेनाल्टीमार्फत गोलमा परिणत गर्दै जर्मनीलाई पहिलो हाफमै ३–१ को बलियो स्थितिमा पुर्याए।
दोस्रो हाफ सुरु भएको दुई मिनेटमै जोसुवा किमिचको उत्कृष्ट पासलाई सदुपयोग गर्दै जमाल मुसियालाले चौथो गोल गरे। ६८औँ मिनेटमा विश्वकपमा डेब्यु गरिरहेका नथानिएल ब्राउनले उत्कृष्ट भलीमार्फत पाँचौँ गोल थपे भने ७८औँ मिनेटमा मैदान छिरेका परिवर्तित खेलाडी डेनिस उन्दाभले छैटौँ गोल गरे। खेलको अन्त्यतिर काई हाभर्ट्जले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीको ७–१ को विशाल जित निश्चित गरे। यो फराकिलो जितसँगै जर्मनीले समूह ई मा आफ्नो बलियो पकड बनाएको छ।
यता समूह एफको पहिलो खेलमा एसियाली पावरहाउस जापानले बलियो प्रतिद्वन्द्वी नेदरल्याण्ड्सलाई २–२ गोलको रोमाञ्चक बराबरीमा रोकेको छ। डलास स्टेडियममा सम्पन्न खेलमा दुई पटक पिछडिएको स्थिति उल्ट्याउँदै जापानले खेलको अन्तिम समयमा महत्त्वपूर्ण अङ्क खोस्न सफल भएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ निकै आक्रामक र रोमाञ्चक बनेको थियो। खेलको ५०औँ मिनेटमा रायन ग्राभेनबर्चको क्रसलाई कप्तान भर्जिल भान डाइकले हेडमार्फत गोलमा परिणत गर्दै नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए।
तर, कतार विश्वकप २०२२ मा जर्मनी र स्पेनलाई सुरुमा गोल खाएर पनि पराजित गरेको इतिहास बोकेको जापानले यहाँ पनि उत्कृष्ट पुनरागमन गर्यो। केइतो नाकामुराले डिपिबक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।
खेलको ६४औँ मिनेटमा नेदरल्याण्ड्सका लागि तेस्रो खेल खेलिरहेका युवा विङ्गर क्रिसेन्सियो समरभिलले जापानी डिफेन्डरलाई छलाउँदै सुन्दर गोल गरेर टोलीलाई पुनः २–१ को अग्रता दिलाए। प्रशिक्षक रोनाल्ड कोम्यानको डच टोली जिततर्फ अग्रसर भइरहेका बेला खेलको अन्तिम समयमा जापानले नाटकीय पुनरागमन गर्यो।
जापानका परिवर्तित खेलाडी कोकी ओगावाको सशक्त हेडर डच गोलकिपर बार्ट भर्ब्रूगेनलाई लाग्नुअघि दाइची कामादासँग ठोक्किँदै गोलमा परिणत भएपछि जापानले हार टार्न सफल भयो । पहिलो हाफमा डच फरवार्ड डोन्येल मालेन र कोडी गाक्पोका प्रहारहरूलाई जापानी गोलकिपर जायन सुजुकीले उत्कृष्ट बचाउ गर्दै विफल पारेका थिए। यस रोमाञ्चक बराबरीसँगै समूह एफमा दुवै टोलीले १–१ अङ्क बाँडेका छन्।