२०८३ असार १ गते , सोमबार

नवौँ चरणसम्म ३० प्रतिशत मात्रै उत्खनन, किचकबध संरक्षण अझै ओझेलमा

sajilo news
पार्थ मण्डल
२०८३ असार १ गते , सोमबार
नवौँ चरणसम्म ३० प्रतिशत मात्रै उत्खनन, किचकबध संरक्षण अझै ओझेलमा

झापा । २२०० वर्ष पूरानो संरचनाको भग्नावशेष फेला परेको झापाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल किचकबधमा नवौँ चरणको उत्खनन सम्पन्न भएको छ । 
नवौँ चरण अर्थात् २४ वर्षमा ३० प्रतिशत मात्र उत्खनन सम्पन्न हुँदा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा समस्या देखिएको छ । जसले गर्दा किचकबध नेपाल सम्पदा सूचिमा पनि पर्न सकेको छैन । एक महिनाको छोटो अवधिका कारण किचकबधको उत्खनन कार्यमा ढिलासुस्ती भएको हो । 
पुरातत्त्व विभागले किचकबधको उत्खनन गर्न वार्षिक १० लाख बजेट छुट्टाउँदै आएको छ । ‘एक करोड बजेट छुट्टाएर कम्तीमा तीन महिनासम्म लगातार किचकबधमा उत्खनन गर्न पाउँदा यहाँबाट अरू ऐतिहासिक संरचनाको भग्नावशेष फेला पर्न सकिन्छ,’ पुरातत्त्वविद् उद्धव आचार्यले थपे । 
किचकबधको पुरानो मूर्ति र दुई वटा पिपलको अग्लो रुख भएको स्थानमा उत्खनन हुन सकेको छैन । त्यस ठाउँमा उत्खनन गरिएमा महत्त्वपूर्ण पुरातात्त्विक सामग्री फेला पर्न सक्ने प्रबल सम्भावना रहेको पुरातत्त्वविद् आचार्यले बताए । सातौँ र आठौँ चरणको उत्खननले फेला परेको एउटा भवनको भग्नावशेषलाई नवौँ चरणको उत्खननले पूर्णता दिएको उनले बताए ।  त्यो भवनको आकृति दरबार जस्तो छ । पाँचै तिर मान्छे बस्ने र भवनको बीचमा एउटा मन्दिर (धार्मिक स्थल) को भग्नावशेष फेला परेकोले त्यसलाई संरक्षण गरिएको उनको भनाई छ । 
पुरातत्त्वविद् आचार्यकै नेतृत्वमा २०५८ सालमा पहिलोपटक किचकबधमा उत्खनन गरिएको थियो । नवौँ चरणको उत्खननको क्रममा धेरै पुरातात्त्विक सामग्री यहाँ फेला परेको छ । माटाको घैला, पुराना इँटाका टुक्रा, वाण, भाला, ढुंगाका भाँडाकुँडा, माटाका मूर्ति, ९ वटा दरबारका संरचना, सुरक्षा पोस्टहरू फेला परेको बताउँदै उनले भने, ‘सीमित बजेटका कारण २४ वर्ष बितिसक्दा पनि उत्खनन सम्पन्न हुन सकेन, अब उत्खनन सम्पन्न गराउन स्थानीय सरकार तथा प्रदेश सरकार लाग्नुपर्छ ।’   
फेला परेको भग्नावशेषहरूको बेलायतमा गरिएको कार्बन परीक्षणबाट यो स्थल इसापूर्व भारतमा शुंग–कुषाणकाल र नेपालमा किराँतहरूको शासन अर्थात् १ सय २० देखि २०० इसापूर्वको अर्थात् आजभन्दा २२ सय वर्ष पुरानो पुष्टि भइसकेको उनको दाबी छ । 
वि.सं.२०३५ सालमा यस स्थलको उत्खननको सुरुवात भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको इतिहास विभागले प्राध्यापक घनश्याम खनालको नेतृत्वमा गरेको मेची क्याम्पसका पूर्वप्रमुख तथा अग्रज पत्रकार चिन्तामणि दाहालले बताए । त्यसपछि मात्र पुरातत्त्व विभागको ध्यानाकर्षण भएको थियो । 
‘यो स्थल कति पूरानो ? यसको महत्त्व के छ ? यहाँ के–के सामग्री भेटिए ? यसलाई कसरी संरक्षण गर्न सकिन्छ ? भनेर पहिला यहाँको उत्खनन कार्य सक्नुप¥यो,’ क्याम्पस प्रमुख दाहालले भने, ‘विभागले वर्षमा एक पटक १० लाख बजेट छुट्टाउँछ, विभागबाट टोली आउँछ, १५÷२० दिन उत्खननको काम गर्छन्, अनि फर्कन्छन् ।’ ‘यो स्थलको उत्खनन यसरी कहिले सक्नु ? कम्तीमा एक करोड बजेट छुट्टाएर तीनदेखि चार महिना लगातार काम गराउनु प¥यो, अनि मात्र उत्खनन सकिन्छ,’ उनले भने । अहिलेसम्म उत्खनन गरिएका संरचनाहरूको संरक्षण खोइ ? ती संरचनाहरू झार जङ्गल छोपिएका हुन्छन् । तिनीहरूको सरसफाई गरी त्यस स्थलमा त्यो ठाउँ चिनाउने गरी बोर्ड राख्नु पर्छ । अनि मात्र यस क्षेत्रमा पर्यटकीयहरूको आवागमन बढ्ने उनको भनाई छ । 
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले यो स्थल भद्रपुर नगरको सम्पत्ति हो । धार्मिक स्थलभन्दा पनि पुरातत्त्व महत्वको दृष्टिकोणले यस क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि नगरपालिकाले संघीय तथा प्रदेश सरकारसँग बजेट माग गरिरहेको छ । चालु आवमा ३ करोड बजेट छुट्टिएपनि जेनजी आन्दोलनका कारण सो बजेट कटौती भएको र आगामी आवको बजेट भाषणमा संघीय सरकारले बजेट नछुट्टाएकोले प्रदेश सरकारसँग माग गरिएको नगरप्रमुख पोखरेलले बताए । यो स्थलको उत्खननका लागि बजेट अभाव नै देखिएको बताउँदै नगरप्रमुख पोखरेलले भने, ‘यस सम्बन्धमा संघीय तथा प्रदेश सरकारलाई नगरपालिकाले बारम्बार घचघच्याइरहेको छ ।’ नगरपालिकाले हुलाक टिकटमा पनि किचकबधको तस्बिर राख्न पहल गरी पत्राचार नै गरेको उनको भनाई छ । 
यस क्षेत्रलाई संसारभर चिनाउने अभियानमा अब हामी लाग्नुपर्छ । पर्यटन बोर्डले किचकबधलाई चिनाउने योजना बनाएर अघि बढ्नुपर्ने बताउँदै उनले भने, ‘किचकबधलाई विश्व सम्पदा सूचिमा पार्न पहिला नेपाल सम्पदा सूचिमा पार्नु पर्छ, अहिलेसम्मको उत्खननले यसको प्रक्रिया पूरा भएकोले नगरपालिकाले सम्बन्धी निकायमा पहल गर्नेछ ।’ 
यो वडाको मात्र नभई नगरको एउटा गहना हो । धार्मिक, पर्यटकीय र पुरातत्त्व महत्त्व बोकेको यस क्षेत्रको विकास र उन्नतिका लागि सबै लागेर विश्व सम्पदा सूचिमा पार्नुपर्ने भद्रपुर २ नम्बर वडाध्यक्ष राम कँडेलले बताए । 
महाभारतकालीन किंवदन्ती अनुसार विराट राजाका सालो कीचक सेनापति थिए । पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूप माथि कुदृष्टि राख्ने सेनापति कीचकलाई भीमसेनले मुड्क्याएर मारेको किंवदन्ती छ । सोही कथावस्तुलाई आधार मानेर यस ठाउँका नाम किचकबध नामकरण गरी किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल राखिएको किचकबध, धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । 
 

सम्बन्धित समाचार