युके पठाइदिने भन्दै ४२ लाख ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीको बहानामा बेरोजगार युवायुवतीलाई ठगी गर्ने व्यक्ति काठमाडौँमा पक्राउ परेका छन्। प्रहरीका अनुसार, बेरोजगार युवालाई आकर्षक तलबको प्रलोभनमा पारेर युकेको रोजगारीको आश्वासन दिई ठगी गरेको आरोपमा धनुषाको जनकनन्दिनी गाउँपालिका ३ निवासी ३१ वर्षीय राहुल पुञ्ज पक्राउ परेका हुन् ।
उनी भक्तपुर, मध्यपुर थिमी नगरपालिका–१ मा बसोबास गर्दै आएको र उनले ४२ लाख रुपैयाँ ठगी गरेको आरोप छ । प्रहरीका अनुसार, राहुलले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर युके पठाउने भनी लामो समयसम्म सम्पर्कमा राखे। तर उनले युवालाई विदेश पठाएनन् र सम्पर्क विहीन बने। पीडितको उजुरीपछि प्रहरीले अनुसन्धान सुरु गरी उनीलाई काठमाडौँ महानगरपालिका–११ बाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका अभियुक्तलाई थप अनुसन्धान र कानुनी कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ पठाइएको छ। यस प्रकरणमा एक जना पीडित रहेको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार, यस्ता ठगीका घटनामा बेरोजगार युवायुवतीलाई सजग हुन र वैधानिक माध्यमबाट मात्र रोजगारी जानु पर्ने बताएका छन् ।