२०८२ आश्विन २६ गते , आईतबार

जेनजी आन्दोलनका क्रममा लुटिएका ५५ राउण्ड गोली फेला

sajilo news
झापा
२०८२ आश्विन २५ गते , शनिबार
जेनजी आन्दोलनका क्रममा लुटिएका ५५ राउण्ड गोली फेला

जेनजी आन्दोलनका क्रममा लुटिएका एसएलआरको ५५ राउण्ड गोली झापाको कमलमा फेला परेको छ । हिजो साँझ ७ बजे कमल गाउँपालिका –७ रंगपुर बस्ने ५५ वर्षीय गंगाप्रसाद पाण्डेले केराको पात काट्ने क्रममा आफ्नो खेतबारीमा सेतो बोरामा गोली फेला पारेका हुन् । उनले बोरा खोली हेर्दा गोली रहेकाले प्रहरीलाई खबर गरेका थिए ।

आज बिहान इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी निरीक्षक नवीन राईको टोलीले एसएलआरको गोली ७.६२ एमएम ५५ राउण्ड बुझेको थियो । ती गोली इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । जेनजी आन्दोलनका क्रममा झापामा प्रहरीबाट लुटिएका २४ थान हतियार, ५६९० वटा गोली र १८० सेल अश्रुग्यास गायव भएको छ ।

आन्दोलनकारीहरुले इलाका प्रहरी कार्यालय बिर्तामोड र इलाका प्रहरी कार्यालय दमकबाट लुटेका विभिन्न हतियार फिर्ता गरेपनि त्यति हतियार फिर्ता नगरेको प्रहरी स्रोतले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका लामो हतियार(एसएलआरलगायत) –१४ थान र त्यसको गोली ४ हजारभन्दा बढी , सानो हतियार( पेस्तोल–रिभल्वर)– २ थान र त्यसमा लोड गरिएको ४० राउण्ड गोली , सर्टगन/ग्यासगन– ४ थान र त्यसको १८० सेल ग्यास फिर्ता गरिएको छैन ।

सम्बन्धित समाचार