संविधानको रक्षाका लागि कानून व्यवसायीहरूको शान्ति र्याली
भद्रपुर । संविधान दिवसको अवसरमा संविधानको रक्षा र सुशासनको प्रत्याभूतिको मागसहित नेपाल बार एशोसिएशन झापा बार एकाइका कानून व्यवसायीहरूले शुक्रबार चन्द्रगढीमा शान्ति र्याली निकालेका छन् ।
संविधानको रक्षा गरूँ, कानुनी राजको सम्मान गरूँ, शान्ति, सुरक्षा र अमनचयन कायम गरूँ, लोकतन्त्र र गणतन्त्रको रक्षा गरूँ, भ्रष्टाचारको अन्त्य, सुशासन र शान्ति हाम्रो चाहना, संविधान रक्षाको गर्दछौँ कामना जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर वकिलहरूले प्रदर्शन गरेका थिए ।
र्याली झापा बारबाट सुरु भई ट्रेड युनियन चोक, एसपी मोड हुँदै कृषि विकास बैंक परिक्रमा गर्दै पुनः झापा बारमै पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभामा वरिष्ठ अधिवक्ता दामोदर सापकोटाले सम्बोधन गर्दै संविधानको रक्षा सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गरे। उनले भने, “राज्य संविधानविहीन हुनु हुँदैन, संविधानको मर्म र मूल्यप्रति सबैले उत्तरदायी हुनुपर्छ,”।
त्यसैगरी, बारका अध्यक्ष वसन्त नेपालले संविधानको रक्षा नगरेसम्म मुलुक स्थिर नहुने चेतावनी दिँदै बार निरन्तर निगरानी भूमिकामा रहने स्पष्ट पारे । सभाको सञ्चालन बारका सचिव दीपेन्द्र भट्टराईले गरेका थिए ।