बंगालको खाडीको जल वाष्पले गर्दा पानी परिरहेको छ, घटस्थापनापछि क्रम घट्छ !
नेपालमा मनसुन सकिने अवधि नजिकिदै गर्दा देशका अधिकांश भागमा पानी परिरहेको छ। हाल देशका धेरैजसो भागमा हल्का देखि मध्यम र भारी खालको वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसपटक मनसुनमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिए पनि सरदर भन्दा कम भएको छ तर वर्षा भइरहेकाले रेकर्ड बढ्न सक्ने मौसमविद् बताउँछन्।
भदौ अन्तिमसम्म औसतको ९० प्रतिशत वर्षा भइसक्नुपर्नेमा हिजो (भदौ ३१ गतेसम्म) ८० प्रतिशत मात्र वर्षा भएको मौसम विभागले जनाएको छ। हालसम्म जुम्ला मापन केन्द्रमा मात्रै सरदर भन्दा बढी बर्षा मापन गरिएको छ।
डडेल्धुरा, घोराही, जोमसोम, धरानमा औसत वर्षा हुँदा जनकपुर, सिमरा, विराटनगर, धनकुटा, ताप्लेजुङ, पोखरा, नेपालगन्जमा सरदरभन्दा निकै कम वर्षा भएको विभागले जनाएको छ।
मौसमविद् डेभिड ढकाल अस्तिदेखि नै देशका देशका अधिकांश भूभागमा पानी परिरहेको बताउँछन्। उनका अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा भारततर्फ रहेको छ तर बंगालको खाडी र अरब सागरबाट पर्याप्त जल वाष्प आइरहेकाले नेपालको धेरै ठाउँमा पानी परिरहेको छ।
आगामी २४ घण्टामा मधेश प्रदेश लगायत लुम्बिनीका तराई साथै कोशी, बागमती, कर्णालीका पहाडी भेगका एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। भोलि देशभर साधारणतया बदली रहनेछ भने आगामी शुक्रबार सम्म धेरैजसो ठाउँमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।
गत वर्ष असोजमा ठूलो जनधनको क्षति हुने गरी अविरल बर्षा भएको थियो। यसपटक भने असोजमा खासै पानी पर्ने नदेखिएको अनुमान विज्ञको छ।
जलवायु विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार दुई तीन दिनलाई पानी पर्ने देखिएको तर अर्को सातादेखि कमजोर हुँदै जानेछ।
‘सेप्टेम्बर २१ देखि पानी पर्ने क्रम घट्दै जाने देखिन्छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम लगायतका देशको पश्चिमी भागबाट मनसुन बाहिरिन थाल्छ’‚ उनी भन्छन् ‘गण्डकी बागमतीदेखि पूर्वको भागमा पनि ठूलो वर्षा देखिंदैन।’
घटस्थापना (सेप्टेम्बर २२) भन्दा पछाडि खासै पानी पर्ने प्रणाली नदेखिएको उनले बताए। ‘पश्चिमी वायुले च्याप्दै ल्याएको छ र मनसुनी वायुलाई विस्थापित गरेर घटस्थापनाको दोस्रो दिनदेखि पूर्वीय भागमा आकासमा बादल देखिएपनि ठूलो पानी पर्ने देखिँदैन’ डा. उप्रेतीले भने।
नेपालमा मनसुन
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो तर यो वर्षको मनसुन औसत भन्दा १५ दिन अघि नै नेपाल प्रवेश गरेको थियो ।
नेपालको पूर्वबाट कोशी प्रदेशका अधिकांश भूभागमा जेठ १५ (मे २९) रातिदेखि नै मनसुन प्रवेश गरेको मौसम विज्ञान विभागले जनाएको थियो तर प्रवेश गरेको १५ दिनसम्म मनसुन स्थिर बस्यो र कोशी प्रदेशभन्दा अगाडि बढ्न सकेन।
मध्य मनसुनमा पनि पर्याप्त पानी पर्न नसक्दा आकासे पानीको भरमा खेतिपाती गर्ने ठाउँमा, विशेषगरी तराईका केही जिल्लामा खानेपानीकै संकट उत्पन्न भएको थियो।
नेपालमा अक्टोबर २ (सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशबाट) अक्टोबर १५ मा देशको पूर्वी भाग (कोशी प्रदेश) बाट बाहिरिने गरेको छ। पछिल्ला वर्षहरूको ट्रेन्ड हेर्दा अक्टोबरको ११ देखि १५ मा मनसुन बाहिरिएको पाइन्छ। गत वर्ष पनि अक्टोबर १२ मा मनसुन बाहिरिएको थियो।
‘आगामी आइतबारसम्म देशभर नै हल्कादेखि मध्यम वर्षाको सम्भावना छ, तर अबको एक हप्ताको अन्त्यमा पश्चिम मनसुन नेपालबाट बाहिरिने सम्भावना विकसित हुँदैछ’‚ डा. उप्रेतीले भने।
छिमेकी मुलुक भारतको पन्जाब, असम मेघालयको तल्लो तटीय क्षेत्र लगायत धेरै भागबाट मनसुन बाहिरिएको त्यहाँको मौसम विज्ञानले जनाएको छ। नेपालमा पनि अबको एक हप्तापछि मनसुन बाहिरिने बताइएको छ।