घर ढलाई गर्दा डोरी चुँडिएर एक मजदुरको मृत्यु, तीन घाइते
मोरङमा घर ढलाई गर्दा याङगलको डोरी चुँडिएर एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । सुन्दरहरैचा-१२ खोर्सानेमा होमबहादुर कट्वालको घर सोही ठाउँ बस्ने खड्गबहादुर कार्कीले ठेक्कामा लिई निर्माण गर्दै आएका थिए । हिजो साँझ ५२० बजे घर ढलाइको क्रममा मसला बोक्ने याङगलको डोरी चुँडिन गई तल झर्दा किचेर एक मजदुरको मृत्यु भएको हो ।
बेलबारी-९ डाँगीबाट बस्ने इश्वरचन्द राजवंशीकी श्रीमती ४८ वर्षीया देवकुमारी राजवंशीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगरमा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।
त्यस्तै सोही ठाउँ बस्ने ५० वर्षीया डामानी राजवंशी , राजेश राजवंशीकी श्रीमती ४० वर्षीया शर्मिला राजवंशी र सर्जु राजवंशीकी श्रीमती ३१ वर्षीया रेणुका राजवंशी घाइते भएका छन् । तीन जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उपचारमा ठेकेदार संलग्न रहेको बुझिएको छ ।