झापामा क्रमशः कर्फ्यू खुकुलो पारिँदै, आज बिहान ११ बजेदेखि ५ बजेसम्म कर्फ्यू
झापामा क्रमशः कर्फ्यू खुकुलो पारिँदैछ । झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार आज बिहान ११ बजेसम्म कर्फ्यू खुकुलो गरिएको बताए । ११ बजेपश्चात् पुनः कडाइका साथ कर्फ्यू लागू गरिने उनले बताए । त्यस्तै साँझ ५ देखि ७ बजेसम्म कर्फ्यू खुकुलो गरिने र साँझ ७ देखि आइतबार बिहान ६ बजेसम्म पुनः कडाइका साथ कर्फ्यू लागू हुने उनको भनाई छ ।
गत भाद्र २३ र २४ गतेको जेनजी नेतृत्वको आन्दोलन समाप्त भए पश्चात् केही अराजक तत्त्वहरूले सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गर्ने प्रयास गरिरहेकोले जिल्लामा शान्ति र सुव्यवस्था कायम गरी जनजीवन सामान्य बनाउने सन्दर्भमा कर्फ्यूको बेला झापा जिल्लाभर आवतजावत गर्न, भेला हुन, सभा जुलुस प्रदर्शन गर्न, बैठक गर्न, घेराउ गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) लागू गरेको छ ।
कर्फ्यूको अवधिमा अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन र निस्कनै पर्ने जरुरी काम परेमा सुरक्षा निकायसँग सम्पर्क गरी अनुमति लिएर मात्र निस्कन अनुरोध गरिएको छ । कर्फ्यूको अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, शबबाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूका सवारीसाधन) भने सञ्चालन हुन सक्ने प्रशासनको सूचनामा उल्लेख छ ।