बिर्तामोडमा बिहानैदेखि चर्कियो जेनजीको आन्दोलन, राजमार्ग अवरुद्ध
झापा । झापाको बिर्तामोडमा आज बिहानैदेखि जेनजी समूहको आन्दोलन चर्किएको छ । प्रशासनले लगाएको कर्फ्युको समयावधि सकिए लगतै बिर्तामोडको मुक्ति चोकमा भेला भएका जेनजीका आन्दोलनकारीहरूले टायर बालिरहेका छन् ।
सरकारले घोर दमन गर्दा १९ जना जेनजीको आन्दोलनकारीको मृत्यु भएपछि उनीहरू थप आक्रोशित देखिएका छन् । बिर्तामोड नगरपालिका ५ स्थित मुक्ति चोकमा करिब ३०० जना प्रदर्शनकारीहरूले स्वतःस्फूर्त रुपमा भेला भई पुरानो जिल्ला ट्राफिक प्रहरी कार्यालयका सामानहरू, प्रहरी पोस्टहरू, ट्राफिक चिन्हहरू सडकमा ल्याई आगजनी गरिरहेका छन् । हालको अवस्था तनावग्रस्त रहेको छ । पूर्व पश्चिम राजमार्गसमेत अवरुद्ध बनेको छ । उक्त स्थानमा सुरक्षाकर्मीको टोली जान सकेको छैन । उता जेनजीका युवाहरूले मेचीनगर –७ इट्टाभट्टास्थित नगरपालिकाको कार्यालय प्रवेश गर्ने बाटो अगाडि पूर्वपश्चिम राजमार्गमा चल्ने सवारी साधनहरू अवरोध गर्ने प्रयास गरिरहेका छन् ।
जिल्लामा पुनः कर्फ्यु लगाउने विषयमा जिल्ला प्रशासन कार्यालय झापामा सुरक्षा निकायको बैठक जारी रहेको जनाइएको छ । हिजो भएको प्रदर्शनको क्रममा प्रहरीले १० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । त्यस्तै प्रहरीको गोली लागेर ७ सहित १४ जना प्रदर्शनकारी घाइते भएको जनाइएको छ । प्रदर्शनको क्रममा सरकारी सवारीसाधनमा पनि व्यापक क्षति पुगेको प्रहरीले जनाएको छ ।