झापामा ब्राउनसुगर र गाँजासहित दुईजना समातिए
झापामा लागूऔषध ब्राउन सुगर र गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-६ शिवगञ्ज बस्ने परमानन्द साह र झापा गाउँपालिका-३ कामाटोली गोपीचोक बस्ने ५१ वर्षीया देखन राजवंशी माझी रहेका छन् ।
हिजो बेलुका ५ः२० बजे शिवसतक्षी नगरपालिका-६ शिवगञ्ज बस्ने परमानन्द साहले लागूऔषध ओसारपसार तथा बेचबिखन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्ज र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले साहको घरमा चेकजाँच गर्ने क्रममा प्लास्टिकसहित ४ ग्राम २३० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो ।
साहले ओछ्यानमा सिरानीमुनि खुकुरी चुरोटको बट्टाभित्र प्लास्टिकले बेरेर लुकाई छिपाई राखेको ४६ पोका ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।
त्यस्तै हिजो दिउँसो १२ः१० बजे झापा गाउँपालिका-३ कामाटोली गोपीचोकमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले ५१ वर्षीया देखन राजवंशी माझीलाई १ के.जी.५०० ग्राम गाँजासहित पक्राउ गरेको छ । उनको घरमा लागूऔषध गाँजा बिक्री गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले खानतलासी गरेको थियो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।