कल्भर्टबाट लडेर भद्रपुरमा एक जनाको मृत्यु
झापाको भद्रपुरमा कल्भर्टबाट लडेर एक जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका– १० बस्ने अन्दाजी ६० वर्षका निगे राईको वडा नं ९ डाँगीबारीस्थित भित्री सडक खण्डमा रहेको कल्भर्टबाट लडेर मृत्यु भएको हो । उनी अन्दाजी १० फिट तल लडेर घोप्टो परी मृत अवस्थामा फेला परेका थिए ।
सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राई बिहान ८बजेतिर घरबाट हिँडेका थिए । उनले पहिलादेखि नै मादक पदार्थ सेवन गरी हिँड्ने गरेको बुझिएको छ ।
त्यस्तै निगुरो टिप्न जङ्गल भएका मोरङ कानेपोखरी गाउँपालिका – ५ बस्ने ५२ वर्षीय जितलाल राजवंशी मृत फेला परेका छन् । जेठ ४ गते बिहान ७;३० बजे राजवंशी निगुरो टिप्न भनी घरबाट हिँडेकोमा हालसम्म घर नफर्केपछि आफन्तले खोजी गर्ने क्रममा आज बिहान ११ बजे घरदेखि अन्दाजी ५ किलोमिटर उत्तर राष्ट्रिय वनमा उनी मृत फेला परेका थिए ।
त्यस्तै सुनसरी बराहक्षेत्र नगरपालिका –२ बयर वन बस्ने ५४ वर्षीय महेन्द्र थापा मगर आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति मृत फेला परेका छन् । उनी मादक पदार्थ सेवन गरी सुतेका थिए ।
त्यस्तै धनकुटा नगरपालिका वडा नम्बर–६ सरस्वती चौक बस्ने ५४ वर्षीय प्रताप राई लडेर घाइते भएका छन् । हिजो टुँडिखेलमा चलिरहेको मेलामा गएकोमा घर नफर्किएपछि उनकी श्रीमतीले खोजतलास गर्ने क्रममा आज बिहान १०ः३० बजे टुँडिखेलनजिकै बाटोमा लडिरहेको अवस्थामा राई फेला परेका थिए । उनलाई जिल्ला अस्पताल धनकुटामा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ पठाइएको छ । उनको अवस्था बोल्न नसक्ने गम्भीर रहेको छ । उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।