२०८३ असार ३ गते , बुधबार

हावाहुरीले रुख ढल्दा चार जनाको मृत्यु

sajilo news
झापा
२०८२ जेष्ठ ३ गते , शनिबार
हावाहुरीले रुख ढल्दा चार जनाको मृत्यु

शुक्रबार काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा तीव्र गतिको हावाहुरीले रुख ढल्दा शिक्षकसहित चारजनाको मृत्यु भएको छ । कैलाली, नवलपरासी (पश्चिम) र कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा एक शिक्षकसहित चारजनाको मृत्यु भएको हो । तीनजना घाइते भएका छन् ।

प्रहरीका अनुसार हावाहुरीले ढालेको रुखमा च्यापिँदा कैलालीको घोडाघोडीस्थित सुखडमा रहेको राष्ट्रिय माविका प्राचार्य कर्णबहादुर भण्डारी, पश्चिम नवलपरासीको सुनवलका स्थानीय मीरा बयम्बू र दुर्गाबहादुर पुन तथा कपिलवस्तु नगरपालिका– ८ मैनिहवाकी १४ वर्षीया सुखना केवटको मृत्यु भएको हो । सुनवलमा रुख ढल्दा घाइते भएका स्थानीय नरमति परियार, अनिल थापा र दुर्गेश्वरा खाम्चा मगरको रूपन्देहीस्थित देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।

कैलाली प्रहरीका डिएसपी राजकुमार सिंहका अनुसार शुक्रबार बिहान चलेको हावाहुरीका कारण सालको रुख ढल्दा ५२ वर्षीय भण्डारी घाइते भएका थिए । टाउकोमा चोट लागेका घोडाघोडी नगरपालिका– १, सुन्दर टोलका भण्डारीको उपचारका क्रममा धनगढीमा रहेको माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।

नवलपरासी प्रहरीका अनुसार शुक्रबार मध्याह्न हावाहुरीसहित आएको पानीबाट जोगिन प्रतीक्षालयमा ओत लागेका वेला प्रतीक्षालयमाथि नै बर्राेको रुख ढलेको थियो । रुखले च्यापेर सुनवल– ७ की ३० वर्षीया मीरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले बताए ।

कपिलवस्तु प्रहरीका अनुसार शुक्रबार अपराह्न हावाले आँपको रुखको हाँगा भाँच्चिएर लाग्दा  सुखना घाइते भएकी थिइन् । डिएसपी मोहनमणि अधिकारीले घाइते सुखनाकालाई उपचारका लागि सदरमुकाम तौलिहवास्थित जिल्ला अस्पताल लगिएकामा चिकित्सकले मृत्यु घोषणा गरेका हुन् । 

शुक्रबार काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा तीव्र गतिको हावाहुरी चल्यो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार पश्चिमी वायु, स्थानीय वायुसँगै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण शुक्रबार दिनभर मौसमी गतिविधि अस्थिर रह्यो । नयाँ पत्रिकाबाट

सम्बन्धित समाचार