२०८३ असार ३ गते , बुधबार

भद्रपुर बजारमा बन्ने सडकको ठेक्का लाग्यो, संरचना हटाउन सात दिने अल्टिमेटम

sajilo news
पार्थ मण्डल
२०८२ बैशाख २४ गते , बुधबार
भद्रपुर बजारमा बन्ने सडकको ठेक्का लाग्यो, संरचना हटाउन सात दिने अल्टिमेटम

भद्रपुर । भद्रपुरको संगमचोकदेखि बजारहुँदै भन्सारसम्मको सडक स्तरवृद्धिको अधुरो निर्माण कार्यले निरन्तरता पाएको छ ।  कोशी प्रदेश सरकार र भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा हालसम्म संगमचोकदेखि पूरानो भद्रपुर नगरपालिका कार्यालयको गेटसम्म नालासहितको सडक निर्माण गरिएको छ । 
चालू आर्थिक बर्ष २०८१।०८२ मा नगरपालिकाको गेट अगाडिदेखि कामेश्वर कम्प्लेक्स अगाडिसम्म नालासहितको सडक निर्माणका लागि ठेक्का लागिसकेको नगरपालिकाका इन्जिनियर योगेन्द्र रंजितकारले जानकारी दिए । 
सडक निर्माण हुने भएपछि भद्रपुर ५ र ६ नम्बर वडा कार्यालयले सडकको स्तरवृद्धि गर्न गरिएको रेखांकन क्षेत्रभित्र रहेका संरचना सातदिन भित्र हटाइन दिन सूचनासमेत जारी गरिसकेको छ । 
बैशाख २१ गते जारी गरिएको सूचनामा भनिएको छ, सडकको स्तरवृद्धिसहित निर्माण प्रारम्भ गर्नको लागि रेखांकन गर्ने कार्य सम्पन्न भईसकेको छ । रेखांकन क्षेत्रभित्र रहेका संरचनाहरु बैशाख २७ गतेसम्म हटाईदिन तथा सडक निर्माण गर्न कठिनाई हुने गरी कुनै क्रियाकलाप नगरिदिनुहुन अनुरोध गरिएको छ ।
साथै सडक स्तरोन्नती गर्दा सवारी आवागमनमा हुने असुविधा, सडक किनारा र क्षेत्रमा हुने दैनिक क्रियाकलापमा पर्ने असहजता लगायत उत्पन्न हुन सक्ने धुवाँ, धुलो, ध्वनी प्रदुषणलाई न्यूनीकरण गर्न हामी सबैको सहयोग र सहकार्यबाट मात्र सडक निर्माण कार्य शिघ्र सम्पन्न हुने सूचनामा लेखिएको छ । 
यता नगरपालिकाले नालासहित ३६ फुटको सडक निर्माणको ठेक्का रिद्धसिद्धी कन्स्ट्रक्सन जलेश्वर १ महोत्तरीलाई दिएको छ । २७४ मिटर सडकको लागत इस्टिमेट एक करोड ९९ लाख ९४ हजार १९२ रुपैयाँ रहेकोमा रिद्धसिद्धी कन्स्ट्रक्सनले एक करोड ५७ लाख ६० हजार ५४० रुपैयाँमा बैशाख ५ गते ठेक्का सम्झौता गरेको इन्जिनियर रंजितकारले बताए । निर्माण कम्पनीले सडक नालामा चाहिने जाली बुनिरहेको बताउँदै उनले भने, ‘संरचना खाली भएपछि नाला खन्न साथ कामले गति लिन्छ ।’

सम्बन्धित समाचार