२०८३ असार ३ गते , बुधबार
बिर्तामोडमा बिजुलीको पोलमा चढेर चोरी गर्न खोज्दा....
बिर्तामोडमा बिजुलीको पोलमा चढेर चोरी गर्न खोज्दा झड्का लागेर एक व्यक्ति गम्भीर घाइते भएका छन् । आज बिहानको राति अन्दाजी १ः३० बजे बिर्तामोड नगरपालिका वडा न.२ स्थित राम चौकमा ट्रान्समिटरसहितको बिजुलीको पोलमुनि भुईँमा तत्काल नाम ,थर र वतन नखुलेका अन्दाजी २५ वर्षका पुरुष घाइते अवस्थामा फेला परेका थिए ।
उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको गस्ती टोलीले उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरेको छ । उनको निधार र आँखाको डिलमा चोट लागेको छ भने शरीरको अन्य विभिन्न भागमा जलेको छ । उनको अवस्था गम्भीर रहेको जनाइएको छ । उनको साथमा तार काट्ने ह्याक्सो ब्लेड, रेन्चहरु, प्लास्टिकको बोरा र डोरी फेला परेको प्रहरीले जनाएको छ ।