बाढीले काठेपुल बगाएपछि हुलाकी सडकको आवागमनमा समस्या
सिरहा । हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको काठेपुल बाढीले बगाएपछि आवागमनमा समस्या भएको छ । मंगलबार बिहान आएको बाढीले पुल बगाएको हो ।
बाँसबाट बनाइएको यही काठेपुलबाट दैनिक सयौँ मोटरसाइकल तथा स्थानीयवासी ओहोरदोहोर गर्ने गरेका थिए । करिब १३ वर्षदेखि यहाँ निर्माणाधीन पक्की पुल अझै अधुरो छ ।
यहाँ छ महिनाअघि सिरहा नगरपालिकाले करिब रु दुई लाख खर्चेर अस्थायी काठेपुल निर्माण गरेको थियो । नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले बाढीले उक्त पुल बगाएपछि आवागमनमा समस्या भएकोे बताए ।
“बाढीले काठको पुल बगाएपछि यहाँ आवागमन नै बन्द हुन पुगेको छ । पैदलयात्रीहरू भने पुल छेउमा रहेको भर्याङबाट जोखिम मोल्दै आवतजावत गरिरहेका छन्”, वडाध्यक्ष यादवले भने, “हाल पानीको बहाव बढी रहेको र कम भएपछि अब के गर्ने भन्ने विषयमा छलफल गर्छौैं ।”यहाँ वि.सं. २०६८ जेठ ३१ बाट तीन वर्षमा सक्ने गरी चार सय ६९ दशमलव दुई मिटर लामो पुलको निर्माण सुरु भएको थियो ।
पटक–पटक म्याद थप गरेर १० वर्षमा निर्माणको अन्तिम काम भइरहेका बेला विसं २०७८ असारमा आएको सामान्य बाढीले पुल भासिन पुग्यो । आगामी असार मसान्तसम्म सम्पन्न गर्ने गरी फेरि अन्तिम पटक म्याद थप गरिए पनि निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ ले बीचमै काम छोडेको छ ।