बिर्तामोडकी तिम्ल्याहा दिदीबहिनीलाई घरमै नागरिकता
जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडमा एकै परिवारका ३ जना अपाङ्गता भएका व्यक्तिलाई घर मै पुगेर नागरिकता वितरण गरेको छ । वडा नम्बर ५ बुद्ध टोलस्थित प्रेम बहादुर लिम्बु र मनकुमारी शेर्माका तिम्ल्याहा छोरी अति अशक्त १७ वर्षीया आकृति लिम्बु, ईन्तुसा लिम्बु र ईक्सा लिम्बुलाई जिल्ला प्रशासनले घरमै पुगेर नागरिकता वितरण गरेको हो ।
उनीहरूलाई सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईँले नागरिकता प्रदान गरे। उनीहरू तीन जनामध्ये ईन्तुसा ओच्छ्यानबाट उठ्न नसक्ने अवस्थाकी छिन् ।
वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाईँको उपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईँसहित प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरु, नायव सुब्बा यदुनन्दन दाहाल, जीवन पौडेल, कर्मचारी नारायण राजवंशीको टोलीले नागरिकता प्रदान गरेको हो ।
अति अशक्त, अपाङ्गता भएका व्यक्ति कार्यालयसम्म पुग्न निकै समस्या हुने गरेका कारण घरमै पुगेर नागरिकता वितरण गर्दै आएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।