प्रेस स्वतन्त्रताप्रति झापाका दलहरूको साझा प्रतिबद्धता
झापाका राजनीतिक दलहरूले प्रेस स्वतन्त्रताको पक्षमा रहेको साझा धारणा दिएका छन् । मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा आयोजित ‘प्रेस स्वतन्त्रताका लागि राजनीतिक दलहरूको प्रतिबद्धता’ विषयक कार्यक्रममा दलहरूले प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका हुन् ।
बिर्तामोडमा आज आयोजित कार्यक्रममा झापाका १० वटा राजनीतिक दलहरूले प्रेस स्वतन्त्रताका लागि ५ बुँदे प्रतिविद्धतासहित हस्ताक्षर गरेका छन् । नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी, नेपाली काँग्रेस झापा उपसभापति केशवराज पाण्डे, नेकपा (माओवादी केन्द्र) झापा संयोजक राजु आचार्य अग्नि, राष्ट्रिय स्वतन्त्र पार्टी झापाका सचिव शम्भु सुस्केरा, राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशवप्रसाद ओझा, नेकपा एकीकृत समाजवादी झापाका अध्यक्ष, बेदराज रेग्मीले ५ बुँदे प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।
जनता समाजवादी पार्टी झापाका अध्यक्ष समर राई, जनमत पार्टी झापाका अध्यक्ष भोटुलाल राजवंशी, नागरिक उन्मुक्ति पार्टी झापाका अध्यक्ष वीरबहादुर खवास, नेपाल कम्युनिस्ट पार्टी झापा इन्चार्ज सुमन सिंह सिले संयुक्त रुपमा प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।
प्रेस स्वतन्त्रताप्रति दलहरूलाई जिम्मेवार बनाउन आयोजित कार्यक्रममा अधिकांशले लोकतन्त्रको मेरुदण्ड नै प्रेस स्वतन्त्रता रहेको धारणा राखेका थिए । प्रेस क्षेत्रसँग मिलेर नै राजनीतिक यात्रा गर्ने नेतृत्वको प्रतिक्रिया थियो । प्रेस र राजनीति क्षेत्रमा माछा र पानीको सम्बन्ध रहेको एमाले झापाका अध्यक्ष गिरीको भनाई छ । नेपाली काँग्रेस झापाका उपसभापति केशवराज पाण्डेले प्रेसमाथिको अङ्कुश स्वीकार्य नहुने धारणा राखे ।
पाँच प्रतिबद्धता
संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको व्यवहारमै कार्यान्वयनका लागि प्रतिबद्ध छौँ । प्रेस स्वतन्त्रताको सम्मान, रक्षा र कार्यान्वयनका लागि सरकारसहित सबै सरोकारवालाको ध्यानाकर्षण गराउँदछौँ ।
राज्यका तीनै तहमा सञ्चार सम्बन्धी कानुनहरू पूर्णरुपमा बनाएर कार्यान्वयन गर्न ध्यानाकर्षण गराउँदछौ । साथै झापाका १५ वटै स्थानीय सरकारलाई एक वर्षभित्र सञ्चार कानुन निर्माण र कार्यान्वयन गर्न अपिल गर्दछौँ ।
गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको पत्रकार सुरेश रजकको हत्याको छानबिन गर्न, परिवारलाई क्षतिपूर्ति दिन, घाइते पत्रकारको निःशुल्क उपचार र क्षति पुर्याइएका सञ्चार माध्यमलाई उचित क्षतिपूर्तिको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउँदछौ ।
पत्रकारको क्षमता वृद्धि तथा पत्रकार महासंघको संस्थागत विकास गर्दै मर्यादित र व्यावसायिक पत्रकारिताको विकासका लागि महासंघ र स्थानीय सरकारबीचको सहकार्यमा जोड दिँदै त्यसका लागि राजनीतिक दलहरूको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
झापाका पत्रकारको सामाजिक सुरक्षाका लागि महासंघले स्थापना गरेको पत्रकार सहारा उपचार कोषको वृद्धिका लागि झापाका राजनीतिक दलहरूको तर्फबाट समेत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै कोषमा सहयोगका लागि सबै पक्षलाई अपिल गर्दछौँ ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुव्रत न्यौपानेले औचित्यमाथि प्रकाश पारेका थिए ।