षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार बुढाथोकी र प्रोत्साहन पुरस्कार भण्डारीलाई
झापा । षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार अन्नपूर्ण पोस्टका पत्रकार किशोर बुढाथोकी र पूर्वाञ्चल दैनिकका सहसम्पादक सुरेन्द्र भण्डारीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । एक लाख एक सय रुपैयाँ पुरस्कार राशिको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार पत्रकार बुढाथोकी र २५ हजार २५ रुपैयाँ पुरस्कार राशिको प्रोत्साहन पुरस्कार भण्डारीलाई कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले संयुक्त रुपमा प्रदान गरे ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङ शाखाले आयोजना गरेको पुरस्कार वितरण र अग्रज पत्रकार सम्मान कार्यक्रमकाबीच उनीहरूलाई पुरस्कृत गरिएको थियो । विराटनगरका समाजसेवी केदारबहादुर बस्नेतले आफ्नी श्रीमती षष्टिका बस्नेतको स्मृतिमा पुरस्कार स्थापनाका लागि नेपाल पत्रकार महासंघ मोरङ शाखामा कोष स्थापना गरेका थिए ।
२०७३ सालमा स्थापित सो कोषको व्याजबाट सूचनाको हकका लागि काम गर्दै आएकाहरूलाई पुरस्कार प्रदान गरिँदै आएको छ ।यसैबीच पत्रकार महासंघ मोरङले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा ६० वर्ष उमेर पुगेका पत्रकार यज्ञ शर्मालाई सम्मान गरेको छ । सम्मानित शर्मालाई मुख्यमन्त्री कार्कीले प्रशंसापत्र प्रदान गर्दै खादा, माल लगाएर सम्मान गरेका थिए । त्यस्तै महासंघ मोरङले तयार पारेको क्यालेन्डर महानगर प्रमुख कोइरालाले लोकार्पण गरेका हुन् ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाकी अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री कार्की सहित विशेष अतिथि विराटनगर महानगरपालिकाका प्रमुख कोइराला , नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरत खड्का, पूर्व अध्यक्ष विक्रम लुइँटेल, लीलावल्लभ घिमिरे, षष्टिका वस्नेत कोषका संरक्षक केदान वस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।