२०८३ असार ३ गते , बुधबार

अमेरिकाबाट २० जना भुटानी शरणार्थीलाई डिपोर्ट, तीनजना पक्राउ

sajilo news
झापा
२०८२ बैशाख १९ गते , शुक्रबार
अमेरिकाबाट २० जना भुटानी शरणार्थीलाई डिपोर्ट, तीनजना पक्राउ

अमेरिका पुगेकामध्ये २० जना पूर्व भुटानी शरणार्थी डिपोर्ट भएका छन् । उनीहरूलाई अमेरिकाले भुटान ल्याएर छाडेको र त्यसपछि भुटानले पनि देश निकाला गरेको हो । तीमध्ये नेपालमा पक्राउ परेका चार जनाबाहेक अरूको अत्तोपत्तो छैन ।

अमेरिकाबाट डिपोर्ट भएर भुटानबाट समेत २० जना पूर्व शरणार्थी लखेटिएको भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले बताए । उनले पहिलो पटक १० , दोस्रो पटक ३ ,तेस्रो पटक २ र पछिल्लो पटक ५ जनालाई अमेरिकाले डिपोर्ट गरेको जानकारी दिए । तीमध्ये नेपालमा पक्राउ परेका चारबाहेक अन्यको अवस्थाबारे थाहा हुन नसकेको पौडेलले जानकारी दिए । यसअघि अमेरिकाबाट १९ जना पूर्व शरणार्थीलाई डिपोर्ट गरिएको बताइएको थियो ।

त्यस्तै तीनजना पूर्व शरणार्थीलाई अमेरिकामा पक्राउ गरेर राखिएको पौडेलले जानकारी दिए । अमेरिकाले डिपोर्ट गरेर भुटान पठाए पनि आफ्नो देशले अस्वीकार गरेपछि चार जना अवैध रूपमा नेपाल प्रवेश गरेका थिए । सोही अभियोगमा प्रहरी हिरासतमा रहेका ती भुटानी शरणार्थी युवा चार सातापछि गत शुक्रबार थुनामुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशले उनीहरूलाई सम्बन्धित नगरपालिकाभित्र मात्र हिँडडुल गर्न इजाजत दिइएको छ । हरेक सात दिनमा नजिकको प्रहरी कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्नेछ । उनीहरूलाई करिब दुई महिना यसरी नै निगरानी गरिने जनाइएको छ ।

यसैबीच अमेरिकाले थप पाँच जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका र त्यहाँको अध्यागमन कानुन उल्लङ्घन गर्ने पाँच जनालाई निष्कासन गरिएको हो।

निष्कासनमा पर्नेमा म्याग्दी बेनीका कार्की, जाजरकोट त्रिवेणीका शाही, काठमाडौँ बौद्धका लामा, डोल्पाका गुरुङ र ठेगाना नखुलेका कठायत थरीका व्यक्तिहरू रहेका छन्। उनीहरूमध्ये तीनजनालाई एयर इन्डिया र बाँकी दुई जनालाई कतार एयरलाइन्सबाट फर्काइएको हो। स्रोतका अनुसार उनीहरूलाई यसै साता काठमाडौँ फर्काइएको हो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावसान नीतिमा कडाइ गरेपछि उनीहरूलाई नेपाल फर्काइएको हो। ट्रम्प प्रशासन लागू भएदेखि गैरकानुनी रूपमा बसिरहेका नेपालीहरूलाई धमाधम फर्काइँदै छ। अमेरिकी अध्यागमनले यसअघि दुई पटक चार्टर्ड विमानमार्फत नेपालीलाई नेपाल ल्याइपुर्‍याएको थियो।

सम्बन्धित समाचार