२०८३ असार ३ गते , बुधबार
सर्वोच्चको आदेशपछि रेशम चौधरी रिहा
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन्। अघिल्लो पत्र अनधिकृत रहेकाले कार्यान्वयन नगर्नू भन्दै प्रहरीलाई सर्वोच्चले अर्को पत्र पठाएपछि उनी रिहा भएका हुन्।
त्यसअघि बुधवार नै सर्वोच्चको मुद्दा शाखाबाट शाखा अधिकृत महिमानसिंह विष्टले लेखेको पत्रका आधारमा रेशमलाई प्रहरीले पक्राउ गरेको थियो। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका उनी डिल्लीबजार कारागारको जिम्मामा थिए।
रेशम पक्राउ परेसँगै जनमतसँग हुन लागेको पार्टी एकता घोषणा कार्यक्रम बिथोलिएकाे छ। नेताहरूले अब एकताका लागि अर्काे मिति तय गर्ने बताएका छन्।
एकता घोषणा कार्यक्रम बिथोल्नकै लागि राज्यबाट योजनाबद्ध रुपमा रेशमलाई पक्राउ गरिएको जनमत र नाउपाका नेता–कार्यकर्ताको आरोप छ। उनीहरूले सरकारविरुद्ध आक्रोश पोखिरहेका छन्।