लखनउलाई ५ विकेटले हराउँदै चेन्नईको दोस्रो जित
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले दोस्रो जीत निकालेको छ।गएराति भएको खेलमा चेन्नईले लखनउ सुपर जायन्ट्सलाई पाँच विकेटले पराजित गरेको हो । योसँगै लखनउको तीन खेलको अपराजित यात्रा टुङ्गिएको छ।
लखनउले दिएको १६७ रनको लक्ष्य पछ्याएको चेन्नईले १९ ओभर तीन बलमा पाँच विकेट गुमाउँदै १६८ रन बनायो।चेन्नईका लागि शिवम दुबेले सर्वाधिक ४३ रन बनाए। कप्तान महेन्द्रसिंह धोनीले २६ रन जोडे। लखनउका रवि बिश्नोईले दुई विकेट लिए।
त्यसअघि अटल बिहारी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६६ रन बनाएको थियो।
लखनउका कप्तान ऋषभ पन्तले सर्वाधिक ६३ रन बनाए। मिचेल मार्शले ३० रन जोडे। चेन्नईका रवीन्द्र जडेजा र मथिशा पाथिरानाले समान दुई विकेट लिए।प्रतियोगितामा लखनउको सात खेलबाट आठ अङ्क छ। समान खेलबाट पुछारमा रहेको चेन्नईको चार अङ्क छ। आईपीएल क्रिकेटमा आज पन्जाब किङ्गस र कोलकाता नाइट राइडर्स खेल्दैछन्।