आठ महिनामा भित्रियो साढे १० खर्ब रुपैयाँ

झापा । चालू आर्थिक वर्षको पहिलो आठ महिनामा रेमिट्यान्समा वृद्धि भएको छ । गत साउनेदेखि फागुनसम्ममा रेमिट्यान्स आप्रवाह ९ दशमलव ४ प्रतिशतले वृद्धि भई १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६ दशमलव ९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ ।
फागुनमा मात्रै यसमध्ये १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ । यसरी एकै महिनामा डेढ खर्ब रेमिट्यान्स भित्रिएको यो पहिलोपटक हो ।
वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि भएपछि रेमिट्यान्स रकम बढेको हो । यस वर्ष फागुनसम्म ३ लाख १७ हजार ६८ जना अन्तिम श्रम स्वीकृति र २ लाख १७ हजार ४ सय ३ जना पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ८५ हजार ३ सय ५२ र १ लाख ८२ हजार ७ सय ८३ रहेको थियो ।
रेमिट्यान्सको आप्रवाह बढेसँगै सरकारको चालू खाता पनि १ खर्ब ८० अर्ब ८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ६७ अर्ब ४५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोडले बचतमा रहेकामा अहिले १ अर्ब ३३ करोडले बचतमा रहेको छ ।
यसैगरी, शोधनान्तर स्थिति पनि ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २९ करोडले बचतमा रहेको छ ।
मुलुकबाट बाहिरिने रकमभन्दा बढी भित्रिने रकम भएपछि चालू खाता र शोधानान्तर बचतमा हुने गर्छ ।गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि भई फागुन मसान्तमा २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा २०८१ फागुन मसान्तमा १३ दशमलव १ प्रतिशतले वृद्धि भई १७ अर्ब २७ करोड पुगेको छ ।
आव २०८१–८२ को आठ महिनाको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चिति १७ दशमलव २ महिनाको वस्तु आयात र १४ दशमलव ३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ । फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४२ दशमलव २ प्रतिशत, ११९ दशमलव ४ प्रतिशत र ३३ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा सो अनुपातहरू क्रमशः ३५ दशमलव ८ प्रतिशत, १०८ दशमलव ६ प्रतिशत र २९ दशमलव ३ प्रतिशत रहेका थिए । आजको राजधानी दैनिकमा खबर छ ।