हल्दीबारीमा ४ करोड ६७ लाखमा निर्मित तीनवटै बक्स कल्भर्ट पुल सञ्चालनमा
झापाको हल्दीबारीमा ४ करोड ६७ लाख रुपैयाँ लागतमा निर्मित तीन वटै बक्स कल्भर्ट पुल सञ्चालनमा आएको छ। काठे पुल विस्थापित गर्ने अभियानअन्तर्गत हल्दीबारी गाउँपालिकाले तीन वटा बक्स कल्भर्ट पुलको ठेक्का लगाएको थियो। त्यसमध्ये भुसुडी र भुतेनी खोलामा गरी दुईवटा पुल सञ्चालनमा आइसकेको छ।
हल्दिबारी–३ स्थित भुसुडी खोलामा निर्मित बक्स कल्भर्ट पुलको बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। साबिक जलथल वडा नम्बर २ र ३ लाई जोड्ने लक्ष्मी मावि पूर्वस्थित भुसुडी खोलामा निर्मित पुलको गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्गदेन र उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। एक करोड ३० लाख लागतमा निर्मित २६.८० मिटर लम्बाइ र साढे ७ मिटर चौडाइ रहेको पुलले यस ठाउँका ५ सय घर परिवार लाभान्वित हुने भएका छन्।
संघीय र प्रदेश सरकारको बजेट बिना गाउँपालिकाको वित्तीय समानीकरण बजेटबाट तीन वटा बक्स कल्भर्ट पुल एकमुस्ट ४ करोड ६७ लाख ५४ हजार ८ सय ८७ रुपैयाँमा ठेक्का लगाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले जानकारी दिए। २०७९ साल मंसिर ७ गते सारा सृष्टि निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता गरी निर्माण गरिएको तीन वटै पुल सञ्चालनमा आएको उनले बताए।
लक्ष्मी मावि पूर्वस्थित भुसुडी खोला पुल नहुँदा यहाँ धेरै समस्या थियो। विद्यार्थीसँगै स्थानीयलाई बर्खा याममा हिनडुल गर्न निक्कै समस्या भोगिरहनु परेको कुरालाई ध्यानमा राख्दै गाउँपालिकाकै आन्तरिक पुल निर्माण गरिदिएको गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्गदेनले बताए। पुल निर्माणसँगै बाटोको अभाव देखिएकोले १६ फिटको बाटो निर्माणको प्रक्रिया पनि सुरु गरिहाल्ने उनको भनाइ छ।
गाउँपालिकाभरि रहेका एक सय भन्दा बढी काठे तथा बाँसे पुल विस्थापित गरिसकेको बताउँदै उनले भने, ‘अहिले आवश्यकता अनुसार कालोपत्रे सडक निर्माण प्रक्रिया अघि बढाएका छौँ।’ कार्यक्रममा ३ नम्बर वडाध्यक्ष विष्णुप्रसाद ओली, नेपाली काँग्रेस गाउँ सभापति गङ्गाप्रसाद प्रसाईँ, नेकपा एमाले गाउँपालिका अध्यक्ष त्रिलोचन सापकोटा लगायतका मन्तव्य राखेका थिए।