२०८२ मंसीर १२ गते , शुक्रबार

रोङ गाउँपालिकाले लियो अभिभावकविहीन २१ बालबालिकाको जिम्मा

sajilo news
इलाम
२०८२ मंसीर ११ गते , विहीबार
रोङ गाउँपालिकाले लियो अभिभावकविहीन २१ बालबालिकाको जिम्मा

इलामको रोङ गाउँपालिकाले अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी लिएको छ । विभिन्न कारणले बाबुआमा गुमाएका बालबालिकाको शिक्षाको जिम्मेवारी गाउँपालिकाले लिएको हो ।

पालिकाभित्र २१ जना बालबालिका अभिभावक विहीन छन् । उनीहरूको दैनिक पठनपाठनमा हुने खर्चको जिम्मेवारी पालिकाले लिएको हो । बाबु आमाको मृत्यु भएको, आमाले हेरचाह नगरेको, बाबुआमाले अन्तै विवाह गरेर साहारा विहीन बनेका बालबालिकाको शैक्षिक जिम्मेवारी पालिकाले लिएको जनाएको छ ।

गाउँपालिकाले बिहीबार एक कार्यक्रमको आयोजना गरी बाबुआमा नभएका बालबालिकाको शैक्षिक सामग्री, कापी, कलम तथा पोसाक, झोला, जुत्तालगायतका शैक्षिक सामग्रीको जिम्मेवारी लिएको हो । अध्यक्ष सँग विद्यार्थी कार्यक्रम अन्तर्गत अभिभावकत्व ग्रहण गरेको हो । अभिभावकविहीन बालबालिकाको पोसाक तथा शैक्षिक सामग्रीका लागि पालिकाले वार्षिक १० हजार रुपियाँ खर्च गर्ने पालिकाका अध्यक्ष मनि कुमार स्याङबो (सुवास)ले बताए । आमाबाबु दुवै नभएका बालबालिकाका लागि आवश्यक पोसाक र शैक्षिक सामग्री खरिद गर्न प्रति बालबालिका वार्षिक १० हजार रुपियाँ खर्च गरिने र क्रमिक रुपमा त्यसलाई बढाउँदै समेत लगिने पालिकाका अध्यक्ष स्याङबो बताए।

अहिले सुरुमा एक हाईडोपावर कम्पनीले समेत सहयोग गरेको उनले जानकारी दिए । बाबुआमा नभएका बालबालिकाले सामुदायिक विद्यालयमा निःशुल्क पढ्न पाउने भए पनि शैक्षिक सामग्री नहुँदा शिक्षाबाट वञ्चित हुने अवस्था आएकाले पालिकाले अभिभावकत्व ग्रहण गरेको उनको भनाई छ । पहिलो चरणमा पालिकाले पालिकाभित्र रहेका अभिभावक विहीन २१ जना बालबालिकाका लागि ५ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा, १ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरिदिएको छ ।

त्यसैगरी ती २१ जनै बालबालिकाको बैंक खाता खोलिदिएर एकमुस्ट ३०–३० हजार रुपैयाँ पनि जम्मा गरिदिएको हो । २१ जना बालबालिकाको खातामा गाउँपालिकाले १०–१० हजार रुपैयाँ र सिद्धि खोला हाइड्रोपावर कम्पनीले २०–२० हजार जम्मा गरिदिएको अध्यक्ष स्याङ्बोले बताए । बालबालिकाहरूले कक्षा १२ सकेपछि यो रकम निकाल्नेछन् ।

अध्यक्ष स्याङबोका अनुसार पालिकाकै पहलमा उनीहरू सबैको डिम्याट खाता खोलिनेछ र उनीहरूले विभिन्न कम्पनीको आइपिओ समेत भर्ने पाउनेछन् । ‘कक्षा १२ सम्म उनीहरूको शिक्षादीक्षाको सबै खर्च पालिकाले बेहोर्नेछ,’ अध्यक्ष स्याङबोले भने, ‘१२ सकेर निस्कँदा उनीहरूका लागि उच्च शिक्षा पढ्नलाई अहिलेको यो रकम र सेयरमा गरिने लगानीले सहयोग पुग्ने आशा छ ।’ पालिकाका अनुसार ती २१ जना बालबालिका अहिले आफन्त र छिमेकीको आश्रयमा छन् । उनीहरूलाई बासको प्रबन्ध गर्न पालिकाले होस्टेल बनाउने कार्य अगाडी बढाएको छ ।

यता पालिकाको यस्तो कदमले आफूहरूलाई आत्मविश्वास जागेर खुसी लागेको बालबालिकाहरूको भनाइ छ । बिहीबार पालिकाले उनीहरूलाई शैक्षिक सामग्री , खाने लगाउने सामग्री समेत हस्तान्तरण गरेको छ ।अध्यक्षसँग विद्यार्थी कार्यक्रम नाम दिइएको यो कार्यक्रम सञ्चालन गर्न पालिकाले ‘उद्यमशीलतामा आधारित अध्यक्षसँग विद्यार्थी कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ पास गरी लागू गरेको प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार चौहानले बताए ।

पछिल्लो समयमा वैदेशिक रोजगारीले बाबुको विदेशमै मृत्यु हुने वा हराउने समस्या बढेको छ  । बाबुको मृत्यु र विदेशमा हराउने प्रवृत्तिले आमाले पहिलेको सन्तानलाई छाडेर अन्तै विवाह गर्ने प्रचलन बढ्दा बालबालिका अभिभावकविहीन हुने क्रम बढेको छ । यस्तै सामाजिक सञ्जालका कारण कम उमेरमै विवाह हुने र अन्त विवाह हुने समस्याले पनि बालबालिका अभिभावकविहीन बनेको रोङ गाउँपालिका बडा नम्बर ३ का वडा अध्यक्ष मातृका बरालले बताए । बरालले यो कार्यक्रमले साहारा विहीन बालबालिकालाई ठुलो सहयोग पुग्ने अपेक्षा समेत व्यक्त गरे  । अभिभावक नभएका बालबालिकालाई बाल कक्षादेखि कक्षा १२ सम्मको अध्ययनका लागि सहयोग गरिएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार