आइपीएल : गुजरात चौथो जितसँगै अंक तालिकाको शीर्ष स्थानमा
इन्डियन प्रिमियर लिग (आइपीएल)मा गुजरात टाइटन्सले चौथो जित दर्ता गरेको छ। गुजरातले राजस्थान रोयल्सलाई ५८ रनले हराउँदै प्रतियोगिताको चौथो जित आफ्नो नाममा गरेको हो।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरात टाइटन्सले २१७ रन बनायो। गुजरातले दिएको २१८ रनको लक्ष्य पछाएको राजस्थान रोयल्स १९.२ ओभरमा १५९ रन बनाउँदै अल आउट भयो।
राजस्थानका लागि मध्यक्रमका ब्याटर्स सिम्रोन हेटमायरले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले। उनले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। ओपनिङमा आएका कप्तान सन्जु सामसनले ४१ रन बनाए रियान परागले २६ रन बनाउँदा अन्य कुनै पनि बाटोले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
गुजरातका लागि बलिङमा प्रसिद्ध कृष्णले सर्वाधिक ३ विकेट लिए। रसिद खान र साई किशोरले २-२ विकेट लिए। मोहम्मद सिराज , अर्शद खान र कुलवान्त केज्रोलियाले १-१ विकेट लिए।
त्यसअघि ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१७ रन बनाएको थियो। गुजरातका लागि ओपनर ब्याटर शाही सुदर्शनले सर्वाधिक ८२ रन बनाए। उनले ५३ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका हुन्। जोश बतलरले र शाहरुख खानले समान ३६-३६ रन बनाए। रासिद खानले १२ रन बनाउँदा राहुल तेवा दिया २४ र अर्शद खान शून्यमा अविजित रहे।
राजस्थानका लागि बलिङतर्फ तुसार देशपान्डी र महेश थेक्साना ले समान २-२ विकेट लिए। जोफ्रा आर्चर र सन्दिप शर्माले १-१ विकेट लिए।
गुजरात अहिले अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। पाँच खेलमा ४ जित र १ हारसहित ८ अङ्क बटुल्दै गुजरात शीर्ष स्थानमा उक्लियो। त्यस्तै, राजस्थान रोयल भने ५ खेलमा २ जित र ३ हारसहित ४ अंक बटुल्दै अंक तालिकाको सातौं स्थानमा रहेको छ।