देशमा वैदेशिक ऋण बढेको बढ्यै

नेपालको सार्वजनिक ऋण महिनैपिच्छे बढेकाले अर्थविद् तथा सर्वसाधारणले चिन्ता व्यक्त गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भने यो सामान्य प्रक्रिया रहेको प्रतिक्रिया दिएका छन् ।
नेपालको ऋण कुल गार्हस्थ्य उत्पादनको ४७ प्रतिशत नाघिसक्दा प्रधानमन्त्री ओलीले ५० प्रतिशत पुगे पनि डराउनु नपर्ने बताएका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मधेश प्रदेशको संसद्लाई सम्बोधन गर्दै ऋण नलिईकन मुलुकको विकास गर्न नसकिने बताए ।प्रधानमन्त्री ओलीले ऋण अपरिहार्य रहेको र नेपालको ऋण छिमेकी मुलुकको भन्दा कम रहेको जानकारी दिए । उनले विश्वमा सबैभन्दा बढी ऋण जापानको रहेको बताउँदै छिमेकी देशको तुलनामा नेपालको ऋण कम भएको बताएका हुन् ।
ऋणको अनुपात हेर्ने हो भने छिमेकी देशको भन्दा नेपालको कम ऋण छ । राष्ट्रिय वार्षिक आयको तुलनामा हाम्रो ऋण कम छ । राष्ट्रिय आयको ५० प्रतिशत ऋणलाई त्यति ठूलो नमानिने तर्क प्रधानमन्त्रीको रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ऋण लगायो भनेर कराउनुको अर्थ नभएको बताए ।उनले भने, ‘ऋण लगायो भनेर कराएको छ, संसारमा अरू छिमेकीभन्दा हाम्रो ऋण कम छ, राष्ट्रिय वार्षिक आयको ५० प्रतिशतसम्मको ऋणलाई डरलाग्दो मानिँदैन ।’
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार हाल नेपालको कुल सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४६ दशमलव ९१ प्रतिशत हो । तर, प्रधानमन्त्रीले मधेश प्रदेशको संसद्मा २५–२६ प्रतिशत होला भनेका थिए ।
एक दशकअघि तुलनात्मक रूपमा न्यून रहेको ऋण–जीडीपी अनुपात अहिले झन्डै दोबर हुँदै गएकामा अर्थशास्त्रीहरूले गम्भीर चिन्ता व्यक्त गरिरहेका बेला प्रधानमन्त्री भने चिन्तित देखिएका छैनन् ।
सार्वजनिक खर्च पुनरावलोकन आयोगका पूर्वअध्यक्ष डिल्लीराज खनाल सही नियोजन र पारदर्शी खर्चबिना ऋणको भार देशलाई ‘ऋणको पासो’मा पार्नसक्ने बताउँछन् ।चालू वर्षको आठ महिनामा मात्र नेपालले २ खर्ब ४१ अर्ब रुपैयाँ ऋण उठाइसकेको छ, जसमा आन्तरिक स्रोतको हिस्सा बढी छ । विदेशी विनिमय दरमा आएको उतारचढावले पनि ऋण भार झन्डै ६६ अर्ब रुपैयाँले बढेको छ । हाल जनगणनाअनुसार प्रतिनेपाली नागरिकको भागमा ९१ हजार रुपैयाँ ऋण परेको छ ।
नेपालले अहिले आठवटा द्विपक्षीय र १६ वटा बहुपक्षीय दातृ निकायसँग ऋण तिर्न बाँकी छ । बहुपक्षीय ऋणमा आईडीए (विश्व बैंक समूह) र एडीबी (एसियाली विकास बैंक)को हिस्सा ८१ दशमलव ४४ प्रतिशत रहेको छ । आजको राजधानी दैनिकमा खबर छ ।