२०८१ मंसीर २० गते , विहीबार

डाक्टरले मृत घोषणा गरेका व्यक्ति चिताबाट ब्यूँझिएपछि....

sajilo news
एजेन्सी
२०८१ मंसीर ८ गते , शनिबार
डाक्टरले मृत घोषणा गरेका व्यक्ति चिताबाट ब्यूँझिएपछि....

बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिहीवार बिरामी परेपछि उपचारका लागि अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरे। अस्पतालले उनको पोष्टमार्टम गरेन।  तर मृत घोषणा गरिएका रोहिताशलाई चितामा आगो लगाउने तयारी भइरहँदा उनी ब्यूँझिएको चिकित्सा अधिकारीहरूले शनिवार बताएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार रोहिताश विरामी परेपछि उनलाई परिवार र आफन्तजनले पश्चिमी राज्य राजस्थानको झुनझुनुस्थित एक अस्पतालमा लगेका थिए। तर उनको उपचार नगरिकनै मृत घोषणा गरिएको थियो र उनलाई मृतकहरू राख्ने कक्षमा पठाइयो। परिवारजनले उनको हिन्दु संस्कार अनुसार अन्त्येष्टिको तयारी गरे।

भारतीय सञ्चारमाध्यमका अनुसार वास्तवमा उनलाई छारे रोग (मिर्गी)को समस्या देखिएको रहेछ। 

अस्पतालका प्रमुख मेडिकल अफिसर डी सिंहले एएफपीसँग भने, “एक जना चिकित्सकले पोष्टमार्टम नगरी पोष्टमार्टम रिपोर्ट तयार पारेको र त्यसपछि शवलाई दाहसंस्कारका लागि पठाइएको खुल्न आएको छ।"

“चिता जलाउनुभन्दा केही समयअघि रोहिताशको शरीरमा हलचल सुरु भएपछि मलामीहरूले उनी जीवित रहेको र सास फेरिरहेको पाए । त्यसपछि उनलाई पुनः अस्पताल लगिएको थियो,” सिंहले भने।

रोहिताशलाई दोस्रो पटक अस्पताल लगिएको र उपचारको क्रममा शुक्रवार भने मृत्यु भएको पुष्टि भएको थियो। अधिकारीहरूले अस्पतालको सेवा केही समयका लागि बन्द गरेको जनाएका छन्। 

सम्बन्धित समाचार