२०८२ कार्तिक २१ गते , शुक्रबार

'पूर्णबहादुरको सारङ्गी' फिल्मले झापा कचनकवलका गन्धर्वहरूको मन छोएन

sajilo news
झापा
२०८१ मंसीर १ गते , शनिबार
'पूर्णबहादुरको सारङ्गी' फिल्मले झापा कचनकवलका गन्धर्वहरूको मन छोएन

आफूहरूको जीवनशैलीका बारेमा चलचित्र बनेको सुनेर झापा कचनकवल– २ का ४९ घरधुरीमध्ये प्रायः सबै गन्धर्वहरूले भद्रपुरको कृष्ण कम्प्लेक्समा गएर ‘पूर्णबहादुरको सारङ्गी’ सामूहिक रुपमा हेरे । पूर्णबहादुरको सारङ्गी चलचित्रले धेरै दर्शकहरूलाई धुरुधुरु रुवाएपनि उनीहरूकै जिन्दगानीका बारेमा बनेको सो चलचित्रले गन्धर्वहरूको मन खासै छोएन ।

दलित समुदायका विपन्न गन्धर्वहरूको मन मरिसकेकाले आफ्नै समुदायको कथा र गाथाले भरिएको चलचित्रले उनीहरूको मन नछोएको हो । सांस्कृतिक सम्पदा भएका गन्धर्व समुदायलाई राज्यले बेवास्ता गरेकै कारण आज त्यो समुदाय र उनीहरूको ज्ञान लोप हुने अवस्थामा छ । राज्यले इतिहासदेखि अङ्गीकार गरेको जात व्यवस्थाका कारण आज पनि गन्धर्वहरू तिरस्कार र बहिष्करणको सिकार छन् ।

‘बाबुबाजेदेखिको दुःख अझै पनि छ तर, सिनेमाको जस्तो त्यति साह्रो दुःख चाहिँ अहिले छैन’ कचनकवल २ की दलित महिला सदस्य अमृता बोगटीले भनिन् ,‘सिनेमामा देखाएर के हुन्छ ? हाम्रो दुःख हामीसँगै छ । ’ उनले गन्धर्वहरूको दुःख भजाएर तमासा गर्नुभन्दा पनि आफूहरूलाई सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

भोजपुरबाट बसाइँ सरेर आएका गन्धर्वहरूको जनसङ्ख्या कचनकवलमा २१२ रहेको छ । उनीहरू कृषि , मजदुरी, वैदेशिक रोजगारीलगायतका पेसा गर्ने गरेपनि प्रत्येक घरबाट एक–एकजना अझै गाएर हिँड्ने गर्छन् र गुजारा गर्छन् ।अमृता गन्धर्व समुदायकी एक्ली जनप्रतिनिधि हुन् । राजनीतिक, आर्थिक, सामाजिक , शैक्षिकलगायत हरेक क्षेत्रमा पछि रहेका गन्धर्वहरूको जीवनस्तरमा खासै परिवर्तन हुन सकेको छैन । चलचित्रमा पूर्णबहादुर गन्धर्वले आफ्ना छोरा कमललाई दुःख गरेर डाक्टर बनाएको जस्तो सङ्घर्ष गर्न गाह्रो भएको अमृताले बताइन् । ‘हाम्रा छोराछोरी डाक्टर बन्ने कुरा सपनाजस्तै लाग्छ ’ उनले भनिन्,‘डाक्टर बनाउन सरकारले सहयोग गर्नुपर्छ ।’ सोही झापा क्षेत्र नं ३ का सङ्घीय सांसद तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले प्रत्येक पालिकाबाट एकजना विपन्न दलित आदिवासीका सन्तानलाई एमबिबिएस पढाउने चुनावी एजेन्डा बनाएका थिए । लिङ्देनको त्यो एजेन्डा नारामै सीमित बनेको अमृताले सुनाइन् । पूर्णबहादुरको सारङ्गी हेरेर दर्शकहरूले आँसुले रुमाल भिजाउँदै गर्दा अमृता भन्छिन् ‘आँसु समाधान होइन, सहानुभूति मात्रै हो ।’

पूर्णबहादुरको सारङ्गी हेरेर अमृता नरोएपनि पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजका अध्यक्ष रविन गन्धर्व भने धुरुधुरु रोएका थिए । आफ्नै परिवार र समुदायको कथा भएकाले मन दुखेको उनले सुनाए । गन्धर्वहरूको जीवनस्तर र उनीहरूलाई हेर्ने दृष्टिकोणमा खासै परिवर्तन नआएको उनको पनि गुनासो छ । यद्यपि गन्धर्वहरूका लागि नेपालको एक मात्र प्रशासनिक भवन निर्माणमा सरकारले सहयोग गरेको उनले बताए । एउटा सभा हल र तीनवटा कार्यालय कोठा भएको गन्धर्वहरूको प्रशासनिक भवन प्रदेश सरकार र कचनकवल गाउँपालिकाको सहयोगमा साढे ३२ लाखमा निर्माण भएको हो ।

छठ पूजाको दिन कचनकवल २ को आदर्श टोल र सुकुनाडिगीमा बसोबासरत करिब डेढ सय गन्धर्वहरूलाई भद्रपुरको कृष्ण कम्प्लेक्समा ल्याएर पूर्णबहादुरको सारङ्गी हेर्ने व्यवस्था मिलाइएको थियो । उनीहरूका लागि कचनकवल विद्या मन्दिरले दुई वटा बस गरिदिएको थियो भने त्यस विद्यालयका प्रिन्सिपल खगेन्द्र पाण्डेले सिनेमाको टिकटको खर्च व्यक्तिगत रुपमा बेहोरिदिएका थिए । प्रतिव्यक्ति २ सय रुपैयाँको टिकट गन्धर्वहरूका लागि हल सञ्चालकले डेढ सयको दरले सहुलियत गरेको थियो ।

जसको बारेमा चलचित्र बनेको छ , तिनै गन्धर्वहरू हेर्न आउने भएपछि चलचित्रका गायक प्रशान्त शिवाकोटी काठमाडौँबाट आएका थिए । ‘इस्टकोट आफ्नै काटी छोरालाई भोटो, गरिबैको घरमा जन्म लिनु कर्मै खोटो÷पढाई लेखाइ ठुलो मान्छे बनाउने रहर, गाउँमै बित्यो आफ्नो जीवन  ’बोलको गीत प्रशान्तले गन्धर्वहरुसंग हलभित्र गाएका थिए । चलचित्रका नायक विजय बरालले पनि शुक्रवार बिर्तामोडको क्युएफएक्स सिनेमा हलमा आएर दर्शकहरूमाझ गन्धर्वहरुसंग सोही गीत गाएका थिए ।

गन्धर्वहरुसंग पूर्णबहादुरको सारङ्गी हेर्न गएका कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईको बुझाइमा सो चलचित्रले गन्धर्वहरूको वास्तविक कथा र वर्गीय व्यवस्थालाई उजागर गरेको छ । उनी सांस्कृतिक सम्पदाका धनी गन्धर्वहरूको बारेमा अब राज्य गम्भीर बन्नुपर्नेमा जोड दिन्छन्। दुई दशकअघि प्रकाशित एक तथ्यांकअनुसार देशभर एसएलसी उत्तीर्ण गर्ने गन्धर्वहरू जम्मा ६ दर्जन मात्रै थिए । कचनकवलमा पनि एसइई उत्तीर्ण गर्ने एक–दुई जना मात्र रहेको गन्धर्वका सहयोगी कचनकवल विद्या मन्दिरका प्रिन्सिपल पाण्डेले बताए ।

देशको ६९ जिल्लामा गन्धर्वको बसोबास छ । झापा,कास्की, चितवन, तनहुँ, गोरखा, भोजपुर, सुर्खेत, दाङलगायत जिल्लामा गन्धर्वको सङ्ख्या धेरै छ । २०७८ को जनगणनाअनुसार, यो समुदायको जनसङ्ख्या ६ हजार ९ सय ७१ छ, जुन कुल जनसङ्ख्याको ०.०२ प्रतिशत हो । राज्यको सहयोगसँगै गन्धर्वहरूमा अठोट र सङ्कल्प आवश्यक देखिएको प्रिन्सिपल पाण्डे बताउँछन् ।‘ गन्धर्वहरूमा केही गर्छु भनेर उत्साह, जाँगर र मेहनत चाहियो ’उनी भन्छन् ,‘ दश वर्षपछि गन्धर्वहरूको एकजना मात्र होइन, दर्जनौँ डाक्टर, इन्जिनियर तयार हुन्छन् । ’

सम्बन्धित समाचार