अध्यादेशबाट झापाका ८ जना पदमुक्त
झापाका ८ जना पदमुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेशबाट झापामा ८ जना पदमुक्त भएका हुन् । पदमुक्त हुनेहरुमा भूमि समस्या समाधान आयोग, चिया तथा कफी विकास बोर्ड, सडक बोर्ड र राष्ट्रिय योजना आयोगमा नियुक्त भएकाहरू रहेका छन् । गत चैत १२ गते अगाडि सार्वजनिक निकायमा राजनीतिक रुपमा नियुक्त पदाधिकारीहरू स्वतः पदमुक्त हुने गरी मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सो अध्यादेश जारी गरेका थिए ।
झापामा भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष मदन अधिकारी तथा सदस्यहरू चक्र शेर्मा , रेनुका भुर्तेल र विज्ञ सदस्य लक्ष्मी आचार्य पदमुक्त भएका हुन् । त्यस्तै राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सदस्य रहेका झापाका आदित्य पराजुली र दीपक तामाङ पनि पदमुक्त भएका छन् । त्यस्तै सडक बोर्डको सदस्य नियुक्त भएका कमल गाउँपालिकाका बेनुप्रसाद शिवाकोटी र राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएकी दमककी गीता अधिकारी पनि पदमुक्त भएको जनाइएको छ ।