बिर्तामोडलाई नमूना शहर बनाउने अभियान, एकै पटक सात सडकको शिलान्यास
बिर्तामोड । शहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराएसँगै बिर्तामोडमा सडक निर्माण हुने भएको छ । महिलाले नेतृत्व गरेका देशभरका १३ वटा स्थानीय तहलाई नमुना शहर अन्तर्गत पूर्वाधार निर्माणका लागि सरकारले बजेट उपलब्ध गराएको हो ।
शहरी विकास मन्त्रालयको नमुना शहर निर्माण गर्ने योजनासहित सडक निर्माण गर्न लागिएको र सडकको शिलान्यास आज गरिएको छ । बिर्तामोडमा महिला प्रमुख भएको हुनाले नमुना शहर निर्माणको बजेट प्राप्त भएको नगरप्रमुख पवित्रादेवी महतारा प्रसाईँले बताइन् ।
बिर्तामोडमा अन्य स्थानीय तहको भन्दा धेरै सडक भएकाले एकै पटक सबै आयोजना निर्माण गर्न नसकिएको उनले बताइन् । उनले क्रमैसँग निर्माणको कामलाई अघि बढाइने जानकारी दिइन् ।
७ वटै आयोजनाको एकीकृत रुपमा ठेक्का दिइएको छ । शान्ति उद्देश्य निर्माण सेवाले निर्माणको जिम्मा लिएको छ । निर्माण कम्पनीका सञ्चालक नयन बरालले समयमा र गुणस्तरीय काम गर्ने प्रतिबद्धता जनाए । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नुपर्ने गरी सडक ठेक्का लागेको हो । समयमा बजेट उपलब्ध भए ६ महिनामा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता उनले जनाए ।
शहरी विकास कार्यालयका इन्जिनियर सुरेश चौधरीका अनुसार भ्याट बाहेक ६ करोड ३० लाखको लागतमा निर्माणको लागि ठेक्का लागेको छ । सडक कालोपत्रे र एउटा सामुदायिक भवन निर्माण हुनेछ ।