२०८१ पौष २९ गते , सोमबार

केरला पहिरोमा परी मृत्यु हुनेको संख्या २५० पुग्यो, ४०० घरको गाउँमा ४० जति मात्रै बाँकी

sajilo news
एजेन्सी
२०८१ श्रावण १७ गते , विहीबार
केरला पहिरोमा परी मृत्यु हुनेको संख्या २५० पुग्यो, ४०० घरको गाउँमा ४० जति मात्रै बाँकी

नयाँदिल्ली । केरलाको वायनाडमा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या २५० पुगेको छ । १३० जना मानिस अस्पतालमा उपचाररत छन्। पहिरोमा अझै २४० भन्दा बढी मानिस बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ। 

सोमबार राती २ र ४ बजे मुण्डक्काई, चुरलमाला, अट्टामाला र नूलपुजा गाउँमा पहिरो खसेको हो । पहिरोले घर, पुल, सडक र सवारी साधनहरू बगेका छन् ।

सेना, वायुसेना, एनडीआरएफ, एसडीआरएफ, पुलिस र डग स्क्वाडको टोली उद्धारमा संलग्न छन्। राति अबेरसम्म १ हजारको उद्धार, ३ हजारलाई राहत शिविरमा पठाइएको छ ।

वायनाड बाहेक, मौसम विभागले मलाप्पुरम, कोझिकोड, कन्नूर र कासारगोड जिल्लाहरूमा भारी वर्षाको चेतावनी जारी गरेको छ। जसका कारण  उद्धार कार्यमा समस्या आउन सक्छ ।

गृहमन्त्री अमित शाहले बुधबार संसदमा केरला सरकारलाई २३-२४ जुलाईमा नै सतर्क गराइएको र सरकारले समयमै जनतालाई हटाएको भए यति धेरै नोक्सान नहुने बताएका थिए।

दुई रिसोर्टबाट १९ पर्यटकको उद्धार 

मुण्डक्काई गाउँबाहिर रहेको इला रिसोर्ट र वाना रानी रिसोर्टमा अलपत्र परेका १९ पर्यटकको बुधबार सेनाले उद्धार गरेको हो । घटनापछि उनीहरू यहाँ अलपत्र परेका थिए । डिफेन्स पीआरओका अनुसार १२२ इन्फन्ट्री बटालियन (टीए) मद्रासका सेनाले सबै नागरिकहरूलाई चुरलमालासम्म निकाल्न डोरीको सहायताले मानव पुल बनाएका थिए।

दुर्घटनापछि राज्यमा दुई दिने राजकीय शोकको घोषणा गरिएको छ । जुलाइ ३० मा १२ जिल्लामा विद्यालय–कलेज बिदा दिइएको छ । केरला विश्वविद्यालयले जुलाई ३० र ३१ मा हुने भनिएको सबै परीक्षा स्थगित गरेको छ ।  
 
पहिरो घटनाको जानकारी लिन वायनाड जाँदै गरेको केरलाका स्वास्थ्यमन्त्री वीणा जर्ज बुधबार (जुलाई ३१) बिहान करिब ७.३० बजे सडक दुर्घटनामा परी घाइते भएकी छन् । उनलाई मलप्पुरमको मञ्जेरी मेडिकल कलेजमा भर्ना गरिएको छ । स्कुटर चालकलाई बचाउन खोज्दा दुर्घटना भएको हो ।

त्यस्तै कांग्रेस सांसद राहुल गान्धी र प्रियंका गान्धी वाड्राले खराब मौसम र सुरक्षा कारणहरूले गर्दा वायनाड भ्रमण रद्द गरेका छन्। राहुल र कांग्रेस सांसदहरूले वायनाडमा ज्यान गुमाएकाहरूको सम्मानमा संसदको केन्द्रीय हलमा दुई मिनेट मौन धारण गरेका थिए।

सम्बन्धित समाचार