२०८१ आश्विन १७ गते , विहीबार

बिर्तामोड–भद्रपुर सडक निर्माणमा ढिलासुस्ती : ‘लापता’ विश्वप्रकाश स्वयं उपस्थित भए

sajilo news
झापा
२०८१ असार २८ गते , शुक्रबार
बिर्तामोड–भद्रपुर सडक निर्माणमा ढिलासुस्ती : ‘लापता’ विश्वप्रकाश स्वयं उपस्थित भए

झापाको बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माण नभएको भन्दै भद्रपुरबासीहरुले लगातार आन्दोलन गर्दै आएका छन् । उनीहरूले नेकपा एमाले अध्यक्ष केपी ओली, काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लापता भएको भन्दै ती नेताहरूको तस्बिर सार्वजनिक गरेका छन् । यसरी जनताको समस्याप्रति ती जिम्मेवार नेताहरु गैरजिम्मेवार भएको आरोप लागिरहँदा काँग्रेस महामन्त्री शर्मा आज स्वयं प्रभावितहरूसमक्ष उपस्थित भएका छन् ।

उनले समस्याबाट प्रभावित भएर आन्दोलित भद्रपुरवासीसमक्ष उपस्थित भएर सान्त्वना दिएका छन् । महामन्त्री शर्माले बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माण कार्य सम्पन्न हुन अझै केही समय लाग्ने बताए ।

भद्रपुर नगरपालिका वडा न. १० को कार्यालयमा नगरवासीहरुसंग भएको छलफलमा उनले यो आर्थिक वर्ष समाप्त भइसकेको र ठेक्का लागेको रकम बराबरको काम पुरा भएपछि मात्र थप बजेट माग्न मिल्ने भएकोले निर्माण कार्य ढिलो हुने बताए । छलफलमा थप बजेट माग गर्न भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको नेतृत्वमा वडा न. ७ का वडा अध्यक्ष अभिषेक ढुङ्गाना र वडा न. १० का वडा अध्यक्ष टेकबहादुर खडका काजी सदस्य रहने गरी समिति गठन गरिने भएको छ ।

देउनियाँदेखि पूर्वपट्टिको सडक खण्ड बजेट अभावका कारण यस वर्ष निर्माण नहुने भएपछि स्थानीयहरू आन्दोलित बनेका छन् । वर्षा लागेसँगै सडक हिलाम्मे हुँदा कहिले धान रोप्दै त कहिले सांसदहरू ‘लापता’ भएको तस्बिर राखेर उनीहरू आन्दोलित छन् ।

सामाजिक सञ्जालमा सदरमुकाम ट्रोल नै बनिसकेको छ । गरामनी–भद्रपुर सडकको ८.७ किलोमिटर सडक खण्ड निर्माण गर्ने ठेक्का काठमाडौंको कन्टेक प्रालिले लिएको छ ।

सम्बन्धित समाचार