२०८३ बैशाख २४ गते , विहीबार

एक लाख घुससहित फुङलिङ नगरपालिकाका सिनियर प्राविधिक पक्राउ

sajilo news
रासस
२०८१ असार १८ गते , मंगलबार
एक लाख घुससहित फुङलिङ नगरपालिकाका सिनियर प्राविधिक पक्राउ

ताप्लेजुङ । फुङलिङ नगरपालिकाका सिनियर प्राविधिक अख्तर हुसेनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीबाट रु एक लाख रकम लिएको अभियोगमा अख्तियारको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ । फुङलिङ नगरपालिका–२ तारीबुङ क्षेत्रमा निर्माणाधीन रङ्गशालाको कामबाट हुसेनले अतिरिक्त रकम लिएको निर्माण व्यवसायीको दाबी छ ।

फुङलिङ नगरपालिका–२ का वीरबहादुर तामाङले आफूले ठेक्कामार्फत काम गरेको र प्राविधिकले लगातार पैसा मागेपछि अख्तियारमा खबर गरेको बताएका छन् ।

काम गरेवापतको रु छ लाख ६४ हजार पाँच सय ४१ भुक्तानी लिएको र भुत्तानीको चेक लिनुअघिदेखि नै हुसेनले मलेपको टोलीलाई दिनुपर्छ भनेर २० प्रतिशत पैसा मागेको तामाङले बताए । आफूले पैसा दिन नसकिने भनेपछि पटकपटक फोन गरेर २० बाट घटेर १५ प्रतिशत मागेको उनको भनाइ छ । त्यसपछि अख्तियारको कार्यालयमा खबर गरेर अख्तियारको टोली आएपछि उनको निवासमा गएर उनले मागेको १५ प्रतिशत पैसा दिएको तामाङले बताए।

काम सम्पन्न गरेर पनि आफूलाई भुक्तानी लिन निकै हैरानी दिएको तामाङको गुनासो छ । नगरपालिका उपप्रमुख नेतृत्वको टोलीले अनुगमन गर्नुपर्ने, अनुगमन गरेरपनि उपप्रमुखले पहिला प्राविधिकलाई सही गराउनु भन्ने, प्राविधिकले उपप्रमुखलाई सही गराउनु भन्ने जस्ता हैरानी दिएको तामाङको भनाइ छ ।

सम्बन्धित समाचार