२०८३ असार ३ गते , बुधबार

झापामा वैदेशिक रोजगारीबाट फर्किएका एकजुट हुँदै, दमकमा नगर सञ्जाल गठन

sajilo news
झापा
२०८१ असार १८ गते , मंगलबार
झापामा वैदेशिक रोजगारीबाट फर्किएका एकजुट हुँदै, दमकमा नगर सञ्जाल गठन

भद्रपुर । वैदेशिक रोजगारीमा जाने र स्वदेश फर्किएपछि झन् बेरोजगारी हुने क्रम बढेपछि वैदेशिक रोजगारीबाट स्वदेश फर्केका व्यक्तिहरूको सञ्जाल गठन तथा क्षमता विकास कार्यक्रम सुरु गरिएको छ । सुरक्षित आप्रवासन(सामी) कार्यक्रम झापाले सञ्जाल गठन तथा क्षमता विकास कार्यक्रम अघि सारेको हो ।

केही दिन अघि भद्रपुरमा सञ्जाल गठन गरेको सामीले सोमबार दमक नगर सञ्जाल गठन गरेको छ । दमक नगरभित्र रहेका १० वटा वडाबाट दुई जनाका दरले प्रतिनिधित्व हुने गरी र पछि समितिको बैठकले एक जना सदस्य मनोनीत गर्ने गरी ११ जनाको नगर सञ्जाल गठन गरिएको छ । गठित समितिको अध्यक्षमा विनोद ढकाल,उपाध्यक्षमा मनोहरी घिमिरे,सचिव राजकुमार बानियाँ ,सहसचिवमा रुद्र कुमार उप्रेती र सरस्वती शर्मा कोषाध्यक्षमा चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा प्रेम ढकाल,भक्तबहादुर कटवाल,नन्दलाल पाण्डे, सनकुमार लिम्बु र सूर्यबहादुर राई रहेका छन् । गठित समितिले नगर भित्र वैदेशिक रोजगारीका विषयमा विभिन्न प्रकारका सूचना तथा परामर्श गरी जनचेतना फैलाउने सामी परियोजना झापाका कार्यक्रम संयोजक शेखर बुढाथोकीले बताए । समिति नभएका कारण देखिएका समस्या सम्बन्धित  निकायमा पुर्‍याउन नसक्दा समाधान नहुने विषयलाई ध्यानमा राखी अब समिति मार्फत वैदेशिक रोजगारका बारेमा जानकारी पाउन सजिलो भएको उनले जनाए ।

सामीको सहयोगी संस्था हेल्भेटासका कार्यक्रम अधिकृत रोहित विश्वकर्माले वैदेशिक रोजगारको वर्तमान अवस्था,सवाल,समाधानका उपायहरू,सरोकारवाला निकाय जिम्मेवारी र नवीनतम जानकारीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले आर्थिक वर्ष २०७९/०८० मा जिल्लाबाट श्रम स्वीकृति लिएर २७ हजार ६ सय १९ पुरुष र ५ हजार ९ सय ५१ जना महिला वैदेशिक रोजगारीमा गएको तथ्याङ्क उल्लेख गरे । चालु आर्थिक वर्षको ११ महिनामा जिल्लाबाट २५ हजार ७ सय ९१ जना पुरुष र ६ हजार ४४ जना महिला गरी ३१ हजार ८ सय ३५ जना बिदेसिएको जनाए । जसमध्ये कात्तिक महिनामा सबैभन्दा कम २ हजार १ सय ८ जना र जेठमा ३ हजार २ सय ५५ जना बढी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको उल्लेख गरेका थिए ।

जिल्लाका नगरपालिकामध्ये भद्रपुर, दमक,मेचीनगर र गौरीगञ्ज गाउँपालिकामा सामी परियोजना सञ्चालन भइरहेको संयोजक बुढाथोकीले जनाए । सञ्जाल गठनमा भद्रपुर र दमक सम्पन्न भइसकेको छ भने बाँकी दुई वटा पालिकामा क्रमशः गठन गर्ने उनले बताए ।

सामाजिक विकास समिति संयोजक शारदा भट्टराईको अध्यक्षता तथा नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सामाजिक विकास शाखा अधिकृत केशव प्रसाईँले सहजीकरण गरेका थिए । 

 

सम्बन्धित समाचार