बिर्तामोड नगरपालिकालाई व्यवसायीको हितमा काम गर्न सुझाव
बिर्तामोड । बिर्तामोडका व्यवसायीहरूले स्थानीय सरकारले व्यवसायीहरूको हितमा काम गर्नु पर्ने आवाज उठाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको ‘मेयरसँग व्यवसायी’ विषयक कार्यक्रमका सहभागीहरूले यस्तो आवाज उठाएका हुन् । उनीहरूले स्थानीय सरकारले व्यवसायीको संरक्षण गर्नु पर्ने र व्यवसायीहरूको हितमा कार्यक्रम ल्याउनु पर्ने माग समेत गरे ।
राज्यलाई सबैभन्दा धरै कर व्यवसायीले तिर्ने गरेको तर व्यवसायीको हितमा स्थानीय सरकारले कार्यक्रम ल्याउन नसकेको भन्दै उनीहरूले दुखेसो पोखे । कार्यक्रममा बोल्दै अलौंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले कृषि जन्य बस्तुमा संघीय सरकारले छुट दिएपनि स्थानीय सरकारले कृषि जन्य बस्तु निर्यातमा कर लिएको र त्यसलाई हटाइनु पर्ने माग राखे ।
महिला उद्यमी पार्वता खरेल विमलीले बिर्तामोडलाई प्लास्टिक मुक्त बनाइनु पर्ने र महिला व्यवसायीलाई स्थानीय सरकारले उद्यमशीलतामा जोड्दै लानु पर्ने धारणा राखिन् । झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले व्यवसायीको संरक्षण गर्दै उनीहरूको सुरक्षाका लागि सडक किनारमा सडक बत्ती जडान गर्नु पर्ने बताए ।
त्यस्तै अग्रसेन भवन बिर्तामोडका अध्यक्ष मोहन मित्तलले करका क्षेत्रमा नगरपालिका लचिलो बन्नु पर्ने र सबै व्यवसायीलाई करको दायरमा ल्याउनु पर्ने बताए । कर तिर्ने व्यवसायीलाई स्थानीय सरकारले सम्मान जनक व्यवहार गर्नु पर्ने उनको धारणा थियो ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा औचित्यमाथि प्रकाश पार्दै भने – बिर्तामोड नगरपालिकाले व्यवसायीको हित हुने गरीका कार्यक्रम ल्याउनमा नगरप्रमुखलाई अनुरोध गर्छु । संघको तर्फबाट गर्नुपर्ने सहयोग गर्ने आफू प्रतिबद्ध रहको बताए ।
कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी बिर्तामोड नगरपालिका प्रमुख पवित्रादेवी महतरा प्रसाईँले व्यवसायीले उठाएका प्रश्नको जवाफ दिँदै व्यवसायीहरूका उचित मागलाई सम्बोधन गर्ने बताएकी थिइन् । बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे राजुले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिवडाले गरेका थिए ।