युरोप गएका झापाका पाँचसहित ११ नेपाली सर्बियाको जंगलमा बन्धक, तीन परिवारले पठाए साढे ९लाख फिरौती
सर्बियाको जंगलमा बन्धक बनाइएका झापाका पाँचसहित ११ नेपालीमध्ये तीन परिवारले साढे ९ लाख फिरौती पठाएका छन् । बिर्तामोड–२ का ४५ वर्षीय आमाशु राजवंशी , २५ वर्षीय पशुपति राजवंशी र बाह्रदशी फुलवारिका दीपेश राजवंशीको परिवारले ई सेवामार्फत आज साढे ९ लाख रुपैयाँ फिरौती पठाएका हुन् । यद्यपि उनीहरू रिहा हुने–नहुने टुङ्गो छैन । बन्धक बनाएर यातना दिँदै फिरौती मागेपछि उनीहरूका परिवार हिजोदेखि तनावमा छन् । रोमानिया बस्ने रुपा खत्रीको नाममा साढे ९ लाख रुपैयाँ ई सेवामार्फत पठाएको आमाशु र पशुपतिका आफन्त बिर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य शर्मिला राजवंशीले बताइन् । खत्रीले अपहरणकारीलाई सो रकम बुझाउने विश्वास दिलाइएको छ ।
बन्धकमा परेका आमाशु शर्मिलाका काका र पशुपति काकाका छोरा हुन् । आमाशु गत चैतको अन्तिम र पशुपति वैशाखको पहिलो साता विदेश गएका थिए । उनीहरू साढे ६ लाख रुपैयाँ खर्चिएर इजिप्टका लागि गएका थिए । पैसा नदिए ज्यान मार्ने धम्की दिएपछि राजवंशी परिवार तनावमा परेका छन् । शुक्रवारदेखि लगातार टेलिफोन गरी त्यस्तो धम्की दिएको शर्मिलाले बताइन् । मानव तस्करको चङ्गुलमा परेर राजवंशीत्रयसहित ११ जनालाई दक्षिण पूर्वी युरोपेली मुलुक सर्बिया पुर्याइएको थियो । झापाका पाँच जनामा अन्य दुईजना पनि राजवंशी नै भएको र एक जना शिवगञ्जको भएको बताइएको छ ।
हिजो बिहान विदेशी नम्बरबाट फोन आएको थियो । फोनबाट आफन्तहरूलाई जनही ३ लाख पठाइदिन अनुरोध गरेका थिए । शर्मिलाले भनिन्,‘पैसा नदिए मार्ने धम्कीसहित बिहानदेखि रातिसम्म लगातार फोन आइरहेको छ घरी हिन्दी बोल्छन् घरी अरू भाषा ।’उनले फिरौती रकम बढाउँदै लगेको जानकारी दिइन् ।
११ जनालाई सर्बियाको जंगलमा हातखुट्टा बाँधेर बन्धक बनाइएको खबर आएको शर्मिलाले सुनाइन् । आफन्त समस्या परेको कुरा शर्मिलाले इलाका प्रहरी कार्यालय बिर्तामोड, जिल्ला प्रशासन कार्यालय झापा र सामी परियोजनामा जानकारी गराएको बताइन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले नेपाली बन्धक भएको खबर परिवारमार्फत आएको र बन्धक भएकै भए उद्धारका लागि सम्बद्ध निकायसँग समन्वय गरिएको बताए । उनले आज पीडित परिवारले निवेदन दिएको र सो निवेदन माथिल्लो निकायमा पठाइएको जानकारी दिए ।राजवंशीत्रय मेचीनगर इटाभट्टाकी सपना राजवंशीमार्फत काठमाडौँका विज्ञान खरेलको सम्पर्कमा पुगेको र खरेलले नै उनीहरूलाई विदेश पठाएको पारिवारिक स्रोतले जनाएको छ । सपनाका श्रीमान् नरेश राजवंशी रोमानियामा छन् । उनकै मार्फत राजवंशीत्रय गएको बताइएको छ ।