२०८३ असार ३ गते , बुधबार

सर्पको उद्धारमा खटिने मेचीनगरका कार्कीलाई सर्पले नै डस्दा घाइते

sajilo news
झापा
२०८१ असार १५ गते , शनिबार
सर्पको उद्धारमा खटिने मेचीनगरका कार्कीलाई सर्पले नै डस्दा घाइते

मेचीनगर ।  सर्पको उद्धारमा खटिएका झापा मेचीनगरका मुन्ना कार्कीलाई सर्पले डस्दा घाइते भएका छन् । शुक्रबार दिउँसो साढे १ बजे मेचीनगर–६, पुरानो भन्सारस्थित आफ्नै घरमा सर्प राखेको बट्टा परिवर्तन गर्ने क्रममा कार्कीलाई गोमन सर्पले डसेको थियो । 

मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्रकुमार खरेलका अनुसार सर्प उद्धारकर्मी कार्कीले हिजो समातेका सर्पहरू सुरक्षित ठाउँमा लैजाने तयारी गर्दा एउटा बट्टामा राखिएको सर्प अर्को बट्टामा सार्ने क्रममा गोमन सर्पले देब्रे हातको साइँली औँलामा डसेको बताए । डस्ने बित्तिकै कार्कीलाई चारआली स्थित सर्पदंश उपचार केन्द्रमा लगेको उनले बताए । ‘उनको अवस्था अहिले सामान्य हुँदै गएको छ’, खरेलले भने, ‘विषालु सर्पले डसेका कारण ४/५ दिन अझै लाग्छ ।’

खरेलले आर्थिक अवस्था कमजोर भएका कार्कीको उपचार खर्चमा समस्या हुने भएकाले सबैसँग सहयोगको अपील समेत गरेका छन् । कार्कीले बिहीबार मेची भन्सार कार्यालय काँकडभिट्टा परिसरमा समातेको गोमन सर्प र त्यस्तै मेचीनगर–६ कै कालीखोला पारी अर्को सर्प पनि समातेका थिए ।  कुनै पनि व्यक्तिले सर्प आएको जानकारी दिनसाथ कार्की उक्त ठाउँमा तुरुन्त पुगेर सर्प समातेर उद्धार गर्ने गर्थे । सर्प समात्नमा मायुर कार्कीलाई सर्पले नै डस्दा नगरवासी दुःखित बनेका छन् । 

सम्बन्धित समाचार