मेलमिलाप समितिलाई कारबाहीको माग गर्दै राजवंशीको शव वडा कार्यालयमा राखेर प्रदर्शन
मेलमिलाप समितिको दबाब सहन नसकेर आत्महत्या गरेका गेली राजवंशीको शव राखेर आफन्तजनले भद्रपुर ८ नम्बर वडा कार्यालय परिसरमा राखेर मंगलबार दिउँसो प्रदर्शन गरेका छन् ।
मेलमिलाप समितिका सुरज रेग्मीलगायतलाई कारबाहीको माग राख्दै मृतक राजवंशीका आफन्तहरूले दिउँसो ३ बजे शव राखेर वडा कार्यालयमा प्रदर्शन गरेका हुन् । भद्रपुर नगरपालिका ८ नम्बर वडा कार्यालयमा गठित मेलमिलाप समितिका पदाधिकारीहरूले अविवाहित तथा मानसिक सन्तुलन ठिक नभएकी एक गर्भवतीलाई जबरजस्ती जिम्मा लगाउन खोज्दा भद्रपुर–८ स्थित भद्रशिव मन्दिरनजिकै बसोबास गर्ने ६८ वर्षीय राजवंशीले सोमबार दिउँसो झुन्डिएर आत्महत्या गरेका थिए । उनको शव पोस्टमार्टमको लागि धरान पठाइएको थियो । पोस्टमार्टमपछि ल्याइएको शव आफन्तहरूले वडा कार्यालयमा ल्याएर प्रदर्शन गरेका हुन् ।
मेलमिलाप समितिका पदाधिकारीहरूले सिधासाधा तथा निर्दोष व्यक्तिलाई जबरजस्ती करणी (बलात्कार) आरोपमा फसाउन खोज्दा ती कुरा सहन नसकेर बुबाले आत्महत्या गर्नु परेको छोरा पर्वलाल राजवंशीले आरोप लगाएका छन्। भद्रपुर नगरपालिकाका नगर प्रमुख , उपप्रमुख, प्रहरी लगायतको उपस्थितिमा मृतक परिवारसँग वडा कार्यालयमा छलफल भएको थियो ।