कनकाईमा बाल सञ्जाल हुँदाहुँदै नगरपालिकाले मिलेमतोमा रकम निकासा गरेको आरोप
कनकाई । झापाको कनकाई नगरपालिकाले विभिन्न संस्थाहरूको मिलेमतोमा रकम निकासा गर्ने गरेको आरोप लागेको छ । नगरपालिकामा सक्रिय नगर बाल सञ्जालले नगरलाई यस्तो आरोप लगाएको हो ।
कनकाई नगर बाल सञ्जालले असार ७ गते शुक्रबार नगरमा रहेका राजनैतिक दल र सामाजिक संघ संस्थाका प्रतिनिधिहरुसंगको सर्वपक्षीय छलफलमा बालबालिकाको क्षेत्रमा काम गर्ने क्रममा नगरपालिकासँग भएको सम्झौता पारदर्शी नभएको बताएको हो । बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था बाल सञ्जाल हुँदाहुँदै नगरपालिकाले यही प्रकृतिको अन्य संस्थासँग सम्झौता गरेर रकम निकासा गरेको नगर बाल सञ्जालले आरोप लगाएको हो ।
नगरमा बालबालिकाको क्षेत्रमा क्रियाशील आधिकारिक बाल सञ्जाल हुँदाहुँदै कनकाई नगरपालिकाले रूपान्तरण नेपाल र सङ्कल्प नामका संस्थामार्फत सम्झौता गरेर कार्यक्रम गर्न दिएको नगर बाल सञ्जाल अध्यक्ष अश्लेषा कँडेलले बताइन् । रूपान्तरण नेपाल जिल्ला बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्र आफै अध्यक्ष भएको संस्था हो । जुन संस्थाले नगरपालिकामा १ लाख ४७ हजार रुपैयाँको बजेट सम्झौता गरी अहिले वडा स्तरीय बाल भेला आयोजना गरिरहेको छ ।
बाल सञ्जालमा आफूहरू निर्वाचित भएर आएको ६ महिना भइसक्दा पनि हालसम्म पुरानो समितिले अघिल्लो कार्यकालमा गरेको आर्थिक प्रतिवेदन उपलब्ध नगराएको भन्दै कँडेलले अझै नगरपालिकाले अमूर्त सम्झौता गरेर उनीहरूले नेतृत्व गरेको कार्यसमितिलाई लाखौँ रकम प्रदान गरिरहेको बताइन् । अपारदर्शी ढङ्गले रकम निकासा गर्ने नगरपालिका पनि अनियमितताको जिम्मेवार हुनुपर्ने उनको भनाई छ ।
झापा जिल्ला बाल सञ्जालको आयोजनामा गत जेठ ८ गते कनकाई नगरपालिकामा ‘बासँग बालबालिका’ कार्यक्रम भएको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यस कार्यक्रममा जिल्लाका झन्डै ६ सय बालबालिकासँग साक्षात्कार गरेका थिए । सो कार्यक्रममा नगरसँग भएको सम्झौता र गरेको खर्चमा पारदर्शिता नभएको आरोप नगर बाल सञ्जालले लगाएको छ ।
जिल्ला बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्रले बाल सञ्जालले नगरपालिकाले अघि सारेको कार्यक्रममा नेतृत्व मात्र लिने बताए । उनले आम्दानी र खर्चको हिसाब सञ्जालले राख्नु नपर्ने भन्दै पछिल्लो कार्यसमितिले खोजविन गरेपछि नगरसँग वित्तीय विवरण माग गरेको बताए ।
केपी ओली सहभागी बासँग बालबालिका कार्यक्रमको बिल भौचर पेस गरेपनि स्थानीय तहबाट रकम निकासा नभएको हुनाले अहिले नै त्यसको हिसाब किताब बुझाउन नसक्ने उनको भनाई छ । सो कार्यक्रममा कनकाई नगरपालिकासँग ४ लाख रुपैयाँ, शिवसताक्षी नगरपालिकासँग ४० हजार रुपैयाँ, बिर्तामोड नगरपालिकासँग २० हजार रुपैयाँ र अरू स्थानीय तहसँग पनि रकम माग गरिएको उनले बताए ।