झापाका बैजन्त, जसले बनाए उत्कृष्ट कस्ट्युम डिजाइनरको परिचय
झापा लक्ष्मीपुरमा नमस्ते टेलरिङ हाउसका सञ्चालक बैजन्त कुमार सिंह राजवंशीलाई धेरैले टेलरिङ व्यवसायीको रुपमा चिन्छन् । तर,त्यतिमा मात्र उनको परिचय सीमित छैन,उनले उत्कृष्ट कस्ट्युम डिजाइनरको ख्याति समेत कमाएका छन् ।
भर्खरै सम्पन्न छैटौँ अन्तर्राष्ट्रिय सांस्कृतिक , पर्यटन तथा चलचित्र महोत्सवमा राजवंशीले उत्कृष्ट कस्ट्युम डिजाइनरको अवार्ड हात पारेका छन्। भारतका दुईजना डिजाइनरलाई पछि पार्दै कचनकवल गाउँपालिका १ घेरावारि स्थायी घर भएका राजवंशीले सो अवार्ड हात पारेका हुन् ।
नेपालमा पहिलो पटक छैटौँ संस्करणको अन्तर्राष्ट्रिय राजवंशी सांस्कृतिक, पर्यटन तथा चलचित्र महोत्सव सम्पन्न भएको हो । भारतका विभिन्न स्थानमा विगत ५ वर्षदेखि अन्तर्राष्ट्रिय राजवंशी सांस्कृतिक, पर्यटन तथा चलचित्र महोत्सव हुँदै आएकोमा यस वर्ष झापाको कनकाई नगरपालिका ९ घैलाडुब्बामा महोत्सव गरिएको थियो । महोत्सवमा उत्कृष्ट कस्ट्युम डिजाइनरको प्रतिस्पर्धामा राजवंशीसहित तीन जनाको गीत नोमिनेसन भएको थियो । भारतका प्रदीप राय र हिमु रायलाई पछि पार्दै राजवंशीले ‘तुइँ जेइदिना मोरसे दूर होलो ’ नामक गीतमा गरेको कस्ट्युम डिजाइन नै उत्कृष्ट बन्यो । कार्यक्रमका प्रमुख अतिथि राजवंशी डेभलपमेन्ट एन्ड कल्चरल बोर्डका अध्यक्ष बंशीबदन बर्मनले राजवंशीलाई अवार्ड तथा सम्मान प्रदान गरेका थिए ।
विगत १५ वर्षदेखि टेलरिङ व्यवसाय गर्दै आएका राजवंशीले कलाकार विल्सन विक्रम राई , गायक बलबहादुर राजवंशी , मञ्जु राजवंशीलगायतको ड्रेस डिजाइन गरेका थिए । त्यस्तै राजनीतिकर्मीहरू वसन्त बानिया ,केशव ओझा , नवराज भट्टराईलगायतको लुगा तयार गरेको राजवंशीले सुनाए ।
कचनकवल १ घेरावारि स्थायी घर भई बुबा घाँगरलाल सिंह राजवंशी र आमा पुलसरी राजवंशीको चार छोरा र एक छोरीमध्ये माइला छोरा बैजन्तको जन्म २०४२ साल साउन २८ गते भएको थियो । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनले पढाइलाई निरन्तरता दिन सकेनन् । पढाइ छोडेपछि बुबाकै सल्लाहमा उनले सिलाई कटाई सिक्ने भए । गाउँकै टेलर्समा उनले सिक्न थाले । दुई– तीन महिना गर्दै जाँदा अलिक फराकिलो ठाउँमा काम गर्ने इच्छा राख्दै उनी बिर्तामोड आए । चार– पाँच वर्षको अन्तरालमा बिर्तामोडको धेरै दोकान र फ्याक्ट्रीमा उनले कामको अनुभव बटुले । आफ्नै व्यवसाय खोल्ने सोच राखेपनि पर्याप्त पैसा नहुँदा उनले त्यति बेला व्यवसाय खोल्न सकेनन् । आफ्ना मामाहरूको सहयोगमा उनी दिल्ली हानिए ।
दिल्लीमै कस्ट्युम डिजाइनको सीप सिकेका हुन् । २०६५ सालतिर भारतको दिल्ली गएर उनले त्यहाँको दिल्ली एनसीआर भन्ने ठाउँको एसपीएल इन्डस्ट्रीज कम्पनीमा प्रोडक्सन डिपार्टमेन्टमा काम सुरु गरे। त्यहाँको अनुभवबारे उनी भन्छन् ,‘ त्यहाँ प्रोडक्सन डिपार्टमा काम गर्दै जाँदा केही वर्षपछि स्याम्पलिङ डिपार्टमेन्टमा काम गर्ने मौका पाएँ। स्याम्पलिङ डिजाइनमा हरेक खालको डिजाइनहरू डिजाइनिङ गर्नुपर्ने वा आफूले इम्याजिन गरेर नयाँ पहिरन तयार गर्नुपर्ने त्यो काम मैले सोचेकै जस्तै थियो । त्यो समय मैले पैसा मात्रै नभएर ज्ञान लिन जति सके, अनुभव बटुले धेरै कुराहरू सोध्दै सिक्दै मलाई भविष्यमा काम लाग्छ भनेर भित्री मनले नै हरेक पोइन्टहरु बुझ्न थालेँ ।’
अब आफ्नै फेसन डिजाइनिङको काम सञ्चालन निधो गरेर नेपाल फर्केका उनले बिर्तामोडको शनिश्चरे रोडमा न्यु दिल्ली ट्रेलर्स सञ्चालनमा ल्याए । त्यहाँ राम्रो व्यापार गरेपछि २०७७ साउन १६ गतेदेखि शाखाको रूपमा लक्ष्मीपुरमा नमस्ते टेलरिङ हाउस सर्टिङ एन्ड सुटिङ सञ्चालनमा ल्याएका हुन् । फेसन डिजाइनमा राजवंशी समुदायमै उत्कृष्ट भएका राजवंशीले आफ्नो सीप र कलालाई अझ निखार्दै जाने बताए । उत्कृष्ट डिजाइन गरेकै कारण उनको टेलर्स धेरैको रोजाइमा पर्ने गरेको छ । ब्रान्डेड सर्टिङ सुटिङका कपडा बिक्री गर्नुका साथै स्कुलका पोसाक ,विवाहका कपडालगायत जेन्स र लेडीजका सम्पूर्ण पोसाक उनले तयार गर्ने गरेका छन् ।
महोत्सवमा उत्कृष्ट कस्ट्युम डिजाइनरसँगै राजवंशी समुदायमा लोकप्रिय र चर्चित उत्कृष्ट फिल्म, निर्माता, निर्देशक, कलाकारलगायतलाई अवार्ड प्रदान तथा सम्मान गरिएको थियो ।