२०८३ असार ३ गते , बुधबार

भद्रपुरमा रोजगार संवाद मञ्च गठन

sajilo news
झापा
२०८१ असार ४ गते , मंगलबार
भद्रपुरमा रोजगार संवाद मञ्च गठन

झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा रोजगार संवाद मञ्च गठन भएको छ ।भद्रपुर नगरपालिकाभित्र रोजगारीको क्षेत्रमा रहेका अवसर तथा सम्भावनाको पहिचान, समस्याहरूको निदान र रोजगारी सिर्जनाका नवीनतम उपाय एवम् ढाँचा तथा विधिहरूको विकास गर्ने, रोजगार नीति तथा कार्यक्रमका सम्बन्धमा आवश्यक सुझाव सङ्कलन गर्ने उद्देश्यले निजी तथा गैरसरकारी क्षेत्र, सहकारी क्षेत्र, नागरिक समाज तथा सञ्चार क्षेत्रसमेतलाई समेटेर सहभागितामूलक ढङ्गले रोजगार संवाद मञ्च गठन गरिएको हो ।

नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा आइतबार नगरपालिकाको सभा हलमा भएको भेलाले समिति गठन गर्नुका साथै विभिन्न निर्णयहरू गरेको भद्रपुर नगरपालिकाको रोजगार सेवा केन्द्रका संयोजक एवम् मञ्चका सदस्य सचिव टिकाराम पाण्डेले जानकारी दिए ।

उनका अनुसार नगरप्रमुख गणेश पोखरेलको संयोजकत्वमा गठित समितिको सदस्यमा उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, नगरपालिकाको आर्थिक विकास समिति संयोजक, प्रशंसा ठटाल, सामाजिक विकास समिति संयोजक सीतादेवी गुरागाईँ, निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुली, झापा उद्योग वाणिज्य संघबाट कार्यालय सचिव दुर्गाप्रसाद खतिवडा, झापा उद्योग संघबाट कार्यालय सचिव सुष्मा शाक्य, सहकारी क्षेत्रबाट जीवन वाँस्तोला, सञ्चार क्षेत्रबाट प्रेस क्लब भद्रपुरका उपाध्यक्ष रोहित काफ्लेलगायत छन् ।केही सदस्य मनोनीत गर्न पाउने कार्यविधिको व्यवस्थाअनुसार आवश्यकता भएमा सदस्य थपिने संयोजक नगरप्रमुख पोखरेलले जानकारी दिए ।

त्यसैबीच, समितिको पहिलो बैठकले भद्रपुर नगरपालिका क्षेत्रभित्र रहेका बेरोजगार युवा र यस क्षेत्रमा रहेका उद्योग–प्रतिष्ठान, संस्थागत शैक्षिक क्षेत्र, सहकारी, सेवा क्षेत्रलगायतका रोजगारदाताबीच समन्वय गराउने गरी सुरुमा यस क्षेत्रका बेरोजगार युवा तथा श्रमिक एवम् रोजगारदाताहरूको यथार्थ विवरण सङ्कलन गर्ने, अद्यावधिक गर्ने र सूचना सञ्जाल निर्माण गर्ने निर्णय गरेको समितिका सदस्य सचिव पाण्डेले जानकारी दिए ।

भद्रपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार सेवा केन्द्र स्थापित छ । सो केन्द्रमार्फत सयौँ बेरोजगारहरू सूचीकृत भई सय दिनको ज्याला पाउने गरी विभिन्न काममा संलग्न छन् । भद्रपुरमा प्रधानमन्त्री कार्यक्रम अन्तर्गत काम गरिरहेका श्रमिकहरूलाई प्रतिफलमुखी योजनाहरूमा समावेश गर्ने गरिएको र यसले विकास–निर्माणका योजनाहरू प्रभावकारी देखिएको नगरप्रमुख पोखरेलले बताए ।  

सम्बन्धित समाचार